aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

काठमाडौँ महानगरको नगरसभा सम्पन्न, दुई अर्ब साढे ७२ करोड रुपैयाँको बजेट पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ माघ २०७९
काठमाडौँ महानगरको नगरसभा सम्पन्न, दुई अर्ब साढे ७२ करोड रुपैयाँको बजेट पारित

काठमाडौं  । काठमाडौं  महानगरपालिकाको नगर सभा १२ औँ अधिवेशन आजबाट सकिएको छ । पुस २९ गते सुरु भएको बैठक २ अर्व ७२ करोड ६९ लाख ६३ हजार रुपैयाँको बजेट तथा कार्यक्रम संशोधनसहितका प्रस्ताव पारित गर्दै आज सकिएको हो । उपप्रमुख सुनिता डगोलले अधिवेशनको पहिलो बैठकमा संशोधन प्रस्ताव पेश गरेकी थिइन । ११ औँ नगर सभाबाट चालु आर्थिक बर्षका लागि स्वीकृत कार्यक्रममध्ये ४ अर्व ३६ करोड ७१ लाख ७ हजार बजेटका कार्यक्रमहरुलाई संशोधनका लागि प्रस्ताव गरिएको थियो । महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको दोस्रो बैठकमा विविधसहित ६ वटा कार्यसूची थिए ।

सभाबाट आर्थिक ऐन २०७९, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७, कर्मचारी सेवा ऐन २०७७ संशोधन गर्न बनेका विधेयक पारित भएका छन् । यस्तै सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक २०७९ पारित भएको छ । सभामा नगर सभा अन्तर्गतको विधायन समितिका संयोजक रुपा थापाले विधेयक सम्बन्धी प्रतिवेदन पेश गर्नुभएको थियो ।     

सभाले जनप्रतिनिधिको सुविधा सम्बन्धी विधेयक २०७९ पारित गरेको छ । यस सम्बन्धी विधेयक कार्यपालिका अन्तर्गत रहेको विधायन समितिका संयोजक मचाराजा महर्जनले पेश गरेका थिए । यसैगरी संगठन संरचना र कार्य विवरण सम्बन्धी प्रस्ताव पारित भएको छ । 

यससँगै कृषि तथा पशुपंक्षी विभाग गठन भएको छ । यसअघि जनस्वास्थ्य विभागमा रहेको खाद्य गुणस्तर तथा पशुपंक्षी महाशाखा तथा अन्तर्गतका शाखाहरु र वातावरण व्यवस्थापन विभागसँग रहेको कृषि महाशाखालाई जोडेर विभाग गठन गरिएको हो । लेखा परीक्षण तथा समपरीक्षण एकाईलाई लेखा परीक्षण एकाई कायम गरिएको छ । कानुन तथा मानव अधिकार विभाग मातहतमा रहेको मिसिल शाखालाई सहरी व्यवस्थापन विभाग अन्तर्गत लगिएको छ । यस सम्बन्धी प्रस्ताव नगर सभा अन्तर्गतको सुशासन समितिका संयोजक सिर्जना भेटवालले प्रस्तुत गरेकी थिइन । 

महानगरको संगठन र दरबन्दी संरचनाका पुनरावलोकनका लागि प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा रहेको समितिलाई जिम्मेवारी दिइएको छ । यस सम्बन्धी अध्ययनलाई कार्यपालिकामा लगिनेछ । सभामा नगर सभा सदस्यहरु सन्तोष ढुङ्गेल, हीरादेवी पोखरेल, आशा श्रेष्ठ रौनियारले प्रस्तावमाथि धारणा राखेका थिए ।   

निर्देशित जग्गा विकास कार्यक्रम, यसको मापदण्ड र मापदण्ड कार्यान्वयनका विषयलाई नगर सभा सदस्यहरुले विषय उठाएका थिए । त्यस क्रममा वडाध्यक्षहरु रामकुमार के. सी., चिनीकाजी महर्जन, योगेश खड्गीलगायतले वडा नं. ३१ मा निर्देशित जग्गा विकास कार्यक्रम अन्तर्गत सडकमा परेको भवन संरचनामाथि गरिएको कारवाहीका विषयमा धारणा राखेपछि वडा ३१ का अध्यक्ष सरोज ढकाल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले कारवाहीका लागि अबलम्बन गरिएको प्रक्रियाका विषयमा जानकारी गराए । 

 


 

प्रतिक्रिया दिनुहोस