aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

यसकारण महोत्सव  कुर्छन् नुवाकोटका रजनी र ज्ञानुहरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ माघ २०७९
यसकारण महोत्सव  कुर्छन् नुवाकोटका रजनी र ज्ञानुहरु

नुवाकोट।  म्यागङ गाउँपालिका–४ किम्ताङ निवासी ज्ञानु तामाङले ‘हस्तकला ढाका झोला उद्योग’ सञ्चालन गर्दै आइरहेकी छिन्। विसं २०७२ देखि विदुर नगरपालिका–९ स्थित कोलोनीमा उद्योग सञ्चालन गर्दै आएकी उनले जिल्लामा हुने हरेक मेला महोत्सवमा बिक्री कक्ष लिन्छिन् । महोत्सवबाट हुने आम्दानीले उद्योग सञ्चालन गर्न थप हौसला मिल्ने गरेको तामाङको भनाई छ । 

“उद्योग सञ्चालनमा आएको सुरुवाती चरणमा मासिक एक लाखदेखि डेढ लाखसम्म रुपैयाँ आम्दानी हुने गरेको थियो । अहिले ५० हजार रुपैयाँ आम्दानी हुन मुस्किल छ”, उनले भनिन्, “जिल्लामा सञ्चालित महोत्सवले मेरो उद्योगलाई ठुलो राहत पुग्ने गरेको छ । महोत्सवबाट ढाकाको झोलाले राम्रो बजार पाएर उत्साहित हुन्थे । महोत्सवको समयमा रातभरि झोला बुनेको याद सम्झँदा पनि आनन्द लाग्छ ।”

कोलोनीमा नै रजनी थापाले कुसन तथा गुडिया बनाउने उद्योग सञ्चालन गर्दै आएकी छिन्। उत्पादित कुसन तथा गुडियाले उद्योगबाटै बजार पाइरहेको छ । उद्योग सञ्चालन गर्नुको साथै उनी नै तालिम दिनलाई गाउँ बस्तीसम्म पुग्छिन्। रजनी हस्तकला उद्योगबाट उत्पादित कुसन गुडिया हो । 

उनले भनिन्, “जिल्लामा हुने सबै मेला महोत्सवमा मैले बनाएको कुसन तथा गुडिया प्रदर्शन र बिक्रीको लागि राख्ने गरेकी छु । व्यापार चित्त बुझ्दो नै हुन्छ ।” मेरो उद्योगमा उत्पादित सामग्रीलाई बजारको खासै समस्या छैन । सामग्री उत्पादन गर्न मेला महोत्सवले उत्साह/जाँगर थपिदिन्छ ।

विदुर नगरपालिका–१२ मा ‘ज्ञानु क्याण्डी उद्योग’ सञ्चालन भइरहेको छ । विसं २०७२ मा लप्सीको परिकार बनाउने तालिम लिएर उद्योग सञ्चालन थालनी गरेकी ज्ञानु तामाङलाई महोत्सवले नै व्यवसायीको रूपमा परिचित गराएको हो । “व्यवसाय सञ्चालन गरेको सुरुवाती वर्षमा लगानी उठ्न मुस्किल हुन्थ्यो । बजारको समस्या थियो । बजार चिन्ने मौका मलाई महोत्सवले नै दिएको हो”, उनले भनिन्, “साना ठुला केही कार्यक्रम हुँदा पनि प्रदर्शनीमा राख्न पर्‍यो तपाईँको उद्योगको उत्पादन भनेर जानकारी आउने गरेको छ । हाल बजारको खासै समस्या छैन । मागअनुसार उत्पादन गर्न भने मुस्किल छ ।”

सातौँ नुवाकोट महोत्सवको तयारी तीव्र

‘धार्मिक ऐतिहासिक कला संस्कृतिको संवर्द्धन, दिगो आर्थिक विकासको लागि व्यावसायिक प्रवर्द्धन’ भन्ने नारासहित नुवाकोट उद्योग वाणिज्य सङ्घ सातौँ महोत्सवको तयारीमा जुटेको छ ।

यही माघ २७ देखि फागुन १०गतेसम्म महोत्सव सञ्चालन हुने भएकाले आवश्यक पूर्व तयारीमा नुवाकोट उद्योग वाणिज्य सङ्घ जुटेको हो । जिल्लामा आर्थिक रूपले लगानीमैत्री वातावरण सिर्जना गरी बाह्य लगानीलाई आकर्षण गराउने उद्देश्यले महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताए । विदुर नगरपालिका–५ स्थित पिपलटारमा हुने महोत्सव अघिल्लोभन्दा पृथक् रहने अध्यक्ष कार्कीले जानकारी दिए । 

महोत्सवमा तीन सय स्टल रहनेछ । महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असहायलाई पूर्ण छुटको व्यवस्था रहेको प्रवक्ता सविन राजभण्डारीले जानकारी दिए । महोत्सवमा २० करोड रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य राखिएको छ । करिब सात लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र करिब २० लाख  रुपैयाँ मुनाफा हुने अपेक्षा गरिएको सङ्घका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए । -रासस 

प्रतिक्रिया दिनुहोस