दृढ विश्वास, असल चरित्र, धैर्यता, इमानदारिता र कर्मनिष्ठताले नै मानिसलाई सफलता तर्फ डोर्याउँछ यसैको एक महत्त्वपूर्ण उदाहरण हुन्, नीलकण्ठ न.पा. ८. साँघुटार, धादिङ निवासी ४७ वर्षीय रामकृष्ण श्रेष्ठ ।
तत्कालीन हाइस्कुलसम्मको अध्ययन पूरा गरेका रामकृष्ण श्रेष्ठ हाल एक सफल होटेल व्यवसायी हुन् । साधारण किसानी परिवारमा जन्मिएका श्रेष्ठले वि.स २०६२ सालमा साँघुटार धादिङमै त्रिपुरा सुन्दरी गेष्ट हाउस नामक व्यवसायको सुरूवात गरे । ग्राहकको सन्तुष्टिलाई सर्वोपरि ठान्ने श्रेष्ठलाई व्यवसायको सुरुवाती चरणमा पर्याप्त बजेट अभावका कारण भौतिक पूर्वाधार निर्माण गर्नु एवं व्यवसाय सञ्चालनमा निकै चुनौती भयो ।
आवश्यक बजेटको व्यवस्थाको लागि प्रयासरत उनको भेट कृषि विकास बैङ्क धादिङबेशी शाखाका तत्कालीन कर्जा अधिकृतसँग हुन पुग्यो । उक्त त्रिपुरा सुन्दरी भेटमार्फत कृषि विकास बैंकले कृषि क्षेत्रमा मात्र कर्जा लगानी गर्दछ भन्ने ठानेका उनलाई होटेल व्यवसाय सञ्चालनका लागि पनि कर्जा उपलब्ध हुने कुराको जानकारी भयो ।
सोही सुझाव तथा सल्लाहमा बिस २०६२ सालमा कृषि विकास बैकबाट तीन लाखबाट कर्जाको सुरूवात गरेर व्यवसाय बढाउन कस्सिएका श्रेष्ठले होटेलका सुरुवाती दिनमा आफ्नो व्यवसाय विस्तार गर्न भवन निर्माण गर्नुका साथै बजारीकरण गर्ने कार्यमा समय, स्रोत र पुँजी खर्च गरे ।
खाजा, खाना तथा आरामदायी बसोबासलाई प्राथमिकता दिँदै सम्पूर्ण कर्मचारीको असल व्यवहारबाट प्रभावित बनाउने काम गरेको उनी बताउँछन् । हाल ग्राहकको आगमन बढ्दो क्रममा छ । यसै बिचमा ग्राहकको चाप बढ्न थालेपछि २ आनामा स्थापना भएको होटेललाई १० आना जग्गा जोडेर ३ तले भवनमा खाने बस्ने सुविधायुक्त होटेल बनाए जसको लागि
कृषि बैंकले थप कर्जा प्रदान गरी रु. १ करोड कर्जाको सीमा पु्र्यायो र एक असल कर्जा ग्राहीको रूपमा लिई ग्रिन कार्ड सुविधा समेत प्रदान गर्यो ।
कोभिड–१९ को महामारीको समयमा व्यावसायिक कारोबार ठप्प रहँदा बैकले पुनर्कर्जा प्रदान गरेकोमा बैङ्क परिवारप्रति उनी निकै आभारी छन् । बैंकका कर्मचारीको असल व्यवहार एवं छिटो छरितो सेवा सुविधा प्रदानले आफूलाई बैकसँग जोडिन पाउँदा निकै खुसी लागेको बताउँछन् ।
एक साधारण पारिवारिक पृष्ठभूमिबाट होटेल व्यवसाय सञ्चालन गरेका श्रेष्ठले धादिङ सदरमुकाम भित्र व्यवसायको सफलतासँगै उनको पारिवारिक अवस्था समेत निकै सुदृढ भएको छ । दुई सन्तान र धर्मपत्नीको साथमा रहेका श्रेष्ठका छोरा सिभिल इन्जिनियर र छोरीले जापानबाट आइटी इन्जिनियरिङ सकिसकेका छन् ।
व्यवसाय सञ्चालनको दौरानमा आफ्नो धर्मपत्नी, इष्टमित्र र कृषि विकास बैङ्क परिवारले दिएको साथले नै आफूलाई अब्बल एवं सफल होटेल व्यवसायी बन्न प्रेरणा मिलेको बताउँछन् । उनको समाज सेवामा पनि अग्रिम भूमिका छ ।
त्यसैले इज्जत तथा प्रतिष्ठामा कुनै कमी छैन । श्रेष्ठलाई उनको समाजले इमानदार एवं कर्मठ व्यक्तित्वको संज्ञा दिने गरेको छ । आफ्नो प्रगतिमा सम्पूर्ण इष्टमित्र, साथीभाइ, व्यावसायिक फार्महरूले खुसी व्यक्त गरेकोमा सबैलाई धन्यवादका पात्रका रूपमा लिएको बताउँछन् श्रेष्ठ ।
(सफलताको कथाबाट साभार )
प्रतिक्रिया दिनुहोस