निकै नै कडा प्रावधानहरू सहित चीनले कोभिड विरुद्ध शून्य सहनशीलता अपनाउँदै आएकोमा त्यो खुल्ला गरेपछि नेपाल लगायत सम्पूर्ण विश्वमा नै त्यसको आर्थिक प्रभाव पर्ने देखिएको छ। चीनले काठमाडौँबाट सिधा बेइजिङसम्मको हवाई उडान पुन सुचारु गर्ने भएको छ भने बिस्तारै नेपाल चीन नाकामा गरिएको कडाइलाई पनि खुकुलो पार्ने जनाइसकेको छ।
त्यसले नेपालमा आउने चिनियाँ पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने देखिएबाट नेपाल उत्साहित बनेको छ। चीन संसारमा नै सर्वाधिक पर्यटक पठाउने मुलुक हो। हाम्रो नजिकको छिमेकी र बुद्ध धर्मका कारण जोडिएको सांस्कृतिक सम्बन्धले पनि चिनियाँ पर्यटक आकर्षित गर्न हामीलाई सजिलो छ। त्यसै गरी चीनसँगको व्यापारले पनि नेपाललाई आर्थिक रूपमा लाभ नै हुने देखिन्छ। नेपाली उपभोक्ताले सस्ता चिनियाँ बस्तुको प्रयोग सहजताका साथ गर्न पाउने अवस्था सिर्जना हुनु आफैमा हाम्रो लागि निकै नै खुसीको कुरा हो।
तर, चीनले आफ्ना आर्थिक गतिविधिलाई कोरोना महामारी पूर्वको अवस्थामा नै चलायमान गर्ने नीति अवलम्बन गरेपछि संसारमा नै अर्को चिन्ता थपिएको छ, त्यो हो खनिज तेलको मुल्यमा हुनसक्ने अत्यधिक मूल्यवृद्धि। गएको बुधवार यसबारे चिन्ता व्यक्त गर्दै पेरिसमा रहेको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एउटा रिपोर्ट नै सार्वजनिक गरिसकेको छ। जसमा सन् २०२३ मा कच्चा तेलको खपत बढ्न गई यसले नयाँ रेकर्ड नै कायम गर्ने जनाइएको छ।
आईईएको त्यो मासिक प्रतिवेदनले यो वर्षको पहिलो त्रैमासमा नै कच्चा तेलको विश्वव्यापी खपत प्रति दिन १० लाख ब्यारेलले हुने बताएको छ। आफ्नो अर्थतन्त्रलाई पुनः खोल्ने चीनको कदमले विश्वव्यापी इन्धन आपूर्तिलाई अझ कठिन किन बनाउनेवाला छ भने अहिले नै तेलको आपूर्तिमा समस्या हुँदा विश्व चरम ऊर्जा संकटसँग जुधिरहेको छ।
तर, ऊर्जा सम्बन्धी वाचडगको रूपमा काम गरिरहेको यो संस्थाले चीनका बारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै दोस्रो त्रैमाससम्म वार्षिक माग वृद्धि महसुस नहुने कुरा उल्लेख गरेको छ। त्यसको कारण भनेको चीनलाई आफ्ना सबै ऊर्जा खपत गर्ने उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न केही समय लाग्ने छ। जुन विगत ३ वर्ष देखि नै लगभग बन्दको अवस्थामा थिए।
त्यसो त प्रतिवेदनले चीनले चुनौतीपूर्ण जाडोको सामना गर्ने क्रममा त्यहाँ निकै ठुलो उथलपुथल हुनसक्ने सम्भावना पनि व्यक्त गरेको छ। तर, ती कठिनाइ र अवरोधहरूलाई पार गर्दा चीन निकै नै प्रबल हुने देखिन्छ।
आइईएले यस वर्ष तेलको माग वृद्धिको प्रक्षेपण गर्दै प्रति दिन १९ लाख ब्यारेलले बढ्ने अनुमान गरेको छ । बढ्दो उपभोगको अर्थ यसले कुल वार्षिक तेलको माग दैनिक १० करोड १७ लाख ब्यारेलमा पुग्ने अपेक्षा गरेको छ। यो रेकर्ड हालसम्म कै उच्च हो।
यसरी चीनले अचानक अघि सारेको कोभिड विरुद्धको शून्य सहनशीलताको नीति हटाउने कुराले विश्वव्यापी तेल बजारलाई स्तब्ध बनाएको छ। यस्तै मागको वृद्धि अमेरिका र युरोपका अर्थतन्त्रहरूले समेत अपेक्षा गरिरहेको अवस्थामा खनिज तेलको हाहाकार र अत्यधिक मूल्य वृद्धिले नेपाल जस्ता साना र विकासशील अर्थतन्त्रलाई भने नराम्ररी पिरोल्ने देखिएको छ। हाम्रो आयातको सर्वाधिक ठुलो हिस्सा ओगटेको खनिज तेलको मुल्यमा हुने वृद्धिले हाम्रा व्यापारका सबै सन्तुलनहरू बिगार्ने देखिएको छ। चीनले आफ्नो अर्थतन्त्र खोल्दा हामीलाई हुने सबैभन्दा ठुलो नोक्सानी भनेको नै त्यसका कारण विश्वव्यापी रूपमा बढ्ने तेलको मूल्य हो। जसले गर्दा हामी नराम्ररी पिल्सिने स्थिति बन्ने निश्चित छ।
"सन् २०२३ को तेल बजारलाई दृष्टिगत गर्दा दुई वाइल्ड कार्डहरू हाबी हुनेछन्: रुस र चीन", प्रतिवेदनले भन्यो, "प्रतिबन्धको प्रभाव स्वरूप रुसी आपूर्ति सुस्त हुँदा सन्तुलनमा बलियो माग वृद्धिले बलियो स्थान बनाउँछ।"
माघ ८ गते आइतबार ब्रेन्ट फ्यूचर्समा तेलको मूल्य ८८ डलर प्रति ब्यारेल नजिक व्यापार भइरहेको छ। सन् २०२२ को ग्रीष्ममा यसको मूल्य १२० डलर प्रति ब्यारेल भन्दा माथि पुगेपछि मूल्य पुन ३७ प्रतिशतले तल झरेको थियो। तर, मुख्यतया चीनबाट हुने बढ्दो मागको सम्भावना फेरी तेलको मूल्य बढाउन उत्प्रेरक हुने देखिएको छ।
प्रतिवेदनले औँल्याए अनुसार रुसमाथि पश्चिमी प्रतिबन्धहरू अझै कडा भएमा विश्वव्यापी तेल बजारमा वर्षको सुरुमा नै मूल्यले ठुलो वृद्धि देखाउन सक्छ। यसो हुँदा त तेलको मूल्य १४० डलर प्रति ब्यारेल सम्म पुग्न सक्छ। तर, स्वाभाविक वृद्धि भएमा पनि यो वर्षको तेस्रो त्रैमाससम्ममा तेलको मूल्य ११० डलर प्रति ब्यारेल भने पुग्ने छ।
प्रतिक्रिया दिनुहोस