
काठमाडाैं । गएको तीन वर्षमा करिब ३७ अर्ब रुपैयाँ मात्र भित्र्याएको छ । उक्त अवधिमा आएको विदेशी लगानी अपेक्षाभन्दा निकै कम हो ।
राजनीतिक अस्थिरता समाप्तिसँगै ठूलो परिमाणमा विदेशी लगानी आउने अपेक्षा रहे पनि लगानीमैत्री वातावरण र घूसखोरी सोचका कारण धेरै लगानी आउन नसकेको जानकारहरू बताउँछन् ।
विगत तीन वर्षमध्ये गत वर्ष सबैभन्दा बढी १७ अर्ब ५१ करोड रुपैयाँ विदेशी लगानी आयो । त्यसअघिका दुई वर्ष क्रमशः १३ अर्ब ५० करोड रुपैयाँ र ५ अर्ब ९२ करोड रुपैयाँ विदेशी लगानी आएको राष्ट्र बैंकको तथ्यांक छ । राजनीतिक अस्थिरता सकिए पनि केन्द्रीय सरकारदेखि स्थानीय तहसम्मको व्यवहार र सोच नसुध्रिएकाले विदेशी लगानीकर्ता आउन नचाहेको अर्थविदहरूको आरोप छ ।
खासगरी जलविद्युत्, पर्यटन, प्राविधिक शिक्षा, स्वास्थ्यमा विदेशी लगानीको ठूलो सम्भावना छ । ती क्षेत्रमा लगानीबढाउनका लागि एकद्वार लगानी नीति र लगानी परिचालन तथा व्यवस्थापनसम्बन्धी व्यवस्थामा सरलीकरण गर्नुपर्ने जानकारहरू बताउँछन् । राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार ३९ वटा राष्ट्रबाट २ सय ५२ वटा कम्पनीमा एफडीआई भित्रिँदै आएको छ । यी कम्पनीमा करिब डेढ खर्ब रुपैयाँ विदेशी लगानी रहेको सरकारी तथ्यांक छ ।
नेपाल भित्रिएको कुल एफडीआईमध्ये सबैभन्दा बढी वेस्टइन्डिज’ बाट आएको देखिन्छ । ट्याक्स हेवन मानिने सो राष्ट्रबाट अघिल्लो वर्ष कुल लगानीको करिब साढे ४६ प्रतिशत एफडीआई भित्रिएको छ । यो सबै सेवा क्षेत्रमा आएको हो ।
कर तिर्नु नपर्ने र आम्दानीको स्रोत नखोजिने भएकाले सो राष्ट्रबाट भित्रिने एफडीआई धेरै रहेको जानकारहरू बताउँछन् । यो राष्ट्रबाट आएको सबै विदेशी लगानी सेवा क्षेत्रमा मात्र आउनुले पनि केही हदसम्म उक्त कुरा पुष्टि हुने उनीहरूको दाबी छ ।
मुलुकको बृहत् आर्थिक परिसूचकमा उच्च दरको सुधार र अर्थतन्त्रको संरचनात्मक परिवर्तन ल्याउने प्रमुख कारकका रूपमा एफडीआई उपयुक्त विकल्पका रूपमा देखिएको छ । यसकारण मुलुकमा आशातीत आर्थिक वृद्धि प्राप्त गर्नका लागि लगानीसम्बन्धी नीतिमा सरलीकरण गर्नुपर्ने विज्ञहरूको सुझाव छ । यसो हुन सके निकट भविष्यमा विदेशबाट ठूलो लगानी भित्रिने सम्भावना रहेको उनीहरूको भनाइ छ ।
अघिल्लो आर्थिक वर्षको अन्त्यमा विदेशी लगानी वृद्धिदर करिब ३० प्रतिशत रहे पनि गत वर्ष सुरुदेखि नै लगानी उच्च दरले घट्यो । जसमध्ये अघिल्लो वर्षको तुलनामा ०७५ असारमा कुल विदेशी लगानी साढे ९३ प्रतिशतले घट्यो । त्यसपछिका महिनामा यस्तो वृद्धिदर निरन्तर रूपमा घटिरह्यो ।
गत चैतसम्म आइपुग्दा विदेशी लगानीको वृद्धिदर करिब ५१ प्रतिशतले ऋणात्मक थियो । त्यसपछिका महिनामा विदेशी लगानीको वृद्धिदर घटे पनि सुधार भएन । यसकारण गत वर्षको बाह्रै महिना विदेशी लगानी वृद्धिदर ऋणात्मक रह्यो । आर्थिक वर्षको अन्तिम महिना (असार) मा यस्तो वृद्धिदर साढे २५ प्रतिशतले ऋणात्मक रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस