
काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने चार मधेसवादी दल सरकारलाई समर्थन गरे पनि सरकारबाहिरै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई चारवटै मधेसवादी दलले विश्वासको मत दिए पनि उनीहरूका विभिन्न माग पूरा नभएपछि उनीहरू सरकारबाहिरै रहेका बताइन्छ । स्रोतका अनुसार ती दलमध्ये कोही मन्त्रालयको बार्गेनिङमा छन् भने कोही उपराष्ट्रपति त कोही सरकारमा सहभागी हुनुभन्दा अघि नै आफ्नो माग सम्बोधन हुनुपर्ने अडानमा रहेका छन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल ९जसपा०, डा। सीके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा० र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी ९नाउपा०ले प्रधानमन्त्री प्रचण्डलाई २६ पुसमा विश्वासको मत दिएका थिए ।
तर, यी चारवटै दल अहिले सरकारबाहिर छन् । प्रधानमन्त्री प्रचण्ड र प्रमुख सत्तासाझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । तर, उनीहरूको छुट्टाछुट्टै माग सम्बोधन नहुँदा सरकारबाहिरै रहेका हुन् ।
सत्तारूढ गठबन्धनबाट असन्तुष्टि भए पनि उनीहरूले सभामुख र उपसभामुखको निर्वाचनमा सत्तारूढ गठबन्धनकै साझा उम्मेदवारलाई मतदान गरेका थिए । संघमा जस्तै उनीहरूले प्रदेशतर्फ समेत सत्तारूढ गठबन्धनमै सहभागी हुँदै सहकार्य गर्दै आएका छन् ।
जसपाको नजर उपराष्ट्रपतिमा
प्रचण्डलाई विश्वासको मत दिएको जसपा उपराष्ट्रपति पाउनुपर्ने अडानमा छ । तर, सत्तारूढ दलका बीचमा भएको सहमतिनुसार उपराष्ट्रपति नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भागमा परेको छ । माओवादी केन्द्रले उपराष्ट्रपति जसपालाई दिन मानेको छैन ।
शक्ति बाँडफाँटमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले ‘गोप्य सहमति’ गरेको जसपाको आरोप छ । मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका विषय टुंग्याउन बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा जसपा अध्यक्ष यादव असन्तुष्टि व्यक्त गर्दै बीचमै उठेर हिँडेका थिए ।
अहिले जसपा अध्यक्ष यादव कहिले प्रचण्ड त कहिले ओलीलाई छुट्टाछुट्टै भेटेर असन्तुष्टि व्यक्त गर्दै छलफल गरिरहेका छन् । आइतबार ओलीसँग भेटेका यादवले समेत सोही असन्तुष्टि व्यक्त गर्दै उपराष्ट्रपति जसपाले पाउनुपर्ने अडान व्यक्त गरे । ओलीले अहिले सरकारमा सहभागी हुन आग्रह गर्दै र पछि बाँकी कुरा मिलाउँदै जाने आश्वासन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस