काठमाडौं । जिल्ला प्रहरी कार्यालय वीरगञ्ज पर्साले दुई करोड ९२ लाख रुपैयाँ भन्दा बढीको सामान लोड गरेको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले बिल बिजक भन्दा बढी खुद्रा सामाग्री तथा लत्ताकपडाहरु लोड रहेको ट्रक र पिकअप नियन्त्रणमा लिएको हो ।
बिल विजक भन्दा बढी खुद्रा तथा विभिन्न किसिमका लत्ताकपडाहरू लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट काठमाडौं तर्फ गईरहेको छ भन्ने सूचना प्रहरीले पाएको थियो । सोहि सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले चण्डालचोक नजिक बीआरओ५जी ९४९१ नम्बरको पिकअप, ना.५ ख ३८४७ नम्बरको मालवाहक ट्रक र बा.प्र.०३–००१ ख १२६४ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको हो ।
के ईन्टरप्राइजेज ट्रासपोर्ट, बीएस इन्टरनेशनल ट्रान्सपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रकहरू तथा पिकअप नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जसमा दुई करोड १२ लाख ९२ हजार ४५२ रुपैयाँ बराबरको खुद्रा तथा विभिन्न किसिमका लत्ताकपडाहरु फेला परेका छन् । यसबारे थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस