
काठमाडौं । नेपाल टी–२० लिग स्पट फिक्सिङमा १० जना संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ‘स्पट फिक्सिङ भएको’ भन्दै नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुन्धान गर्दै आइरहेको छ । सीआईबीले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रारम्भिक अनुसन्धानले ‘स्पट फिक्सिङ’मा ४ नेपाली र ६ विदेशी गरी १० जनाको संलग्नता देखाएकोे हो ।
गत ९ देखि २७ पुससम्म काठमाडौंमा सम्पन्न ‘नेपाल टी–२० लिग’मा ‘स्पट फिक्सिङ’ आरोप लागेका पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोली सदस्य आदिल अन्सारीलाई भने सीआईबीले सोमबार नै पक्राउ गरिसकेको छ । अन्यको भने सीआईबीले खोजी गरिरहेको छ ।
नेपाल टी–२० लिगमा ५६ नेपाली र ३४ विदेशी खेलाडी सहभागी थिए । त्यसमध्ये चार नेपाली र ६ विदेशी ‘स्पट फिक्सिङ’मा संलग्न देखिएको सीआईबी अनुसन्धानले देखाएको हो ।
‘स्पट फिक्सिङ’मा संलग्नमध्ये चार नेपाली र एक विदेशी खेलाडी रहेको सीआईबीले भनेको छ । ६ विदेशीमध्ये एक खेलाडी तथा ४ व्यवस्थापक र एक बाहिरी व्यक्ति संलग्न रहेका पाइएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)को रणनीति साझेदार सेभेन थ्री स्पोर्ट्सका मालिक जतिन अहुवालियाको योजनाअनुसार ‘स्पट फिक्सिङ’मा सहयोग गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सीआईबी अधिकृतका अनुसार आलमले जतिनलाई अन्य खेलाडीसँग पनि सम्पर्क गर्न सहयोग गरेको खुलेको हो ।
नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ‘स्पट फिक्सिङबारे सुरुमा आशंका गरेका थिए । उनले खेल जारी रहेकै समय फिक्सिङका लागि आफ्ना खेलाडीलाई ‘अफर’ आएको खुलासा गरेका थिए । सो खुलासाप्रति अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ‘एन्टी करप्सन युनिट’लाई समेत जानकारी गराइएको थियो ।
त्यसपछि प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि ‘स्पट फिक्सिङ’ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य हाल्दै जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस