aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

काठमाडौंबाहिर सेनाको एयर बेस सञ्चालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ भदौ २०७६
काठमाडौंबाहिर सेनाको एयर बेस सञ्चालनमा

वीरेन्द्रनगर ।  नेपाली सेनाले पहिलोपटक काठमाडौं उपत्यका बाहिरबाट पनि हवाई सेवा सञ्चालन गर्ने गरी पश्चिम एयर बेस सञ्चालनमा ल्याएको छ ।

नेपाली सेनाले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई लक्षित गर्दै कर्णालीको सुर्खेतमा एयर बेस सञ्चालनमा ल्याएको हो ।

मंगलबार एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले सुर्खेतमा स्थापना गरिएको एयर बेसको औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

काठमाडौं केन्द्रित रहेको हवाई सेवालाई देशभर विस्तार गर्ने गरी सेनाले देशका पूर्व र पश्चिमी क्षेत्रमा एयर बेस स्थापना गरिरहेको छ ।

सेनाको सुर्खेतस्थित ‘पश्चिम एयर बेस’मा अहिले ह्याङ्गर निर्माण कार्यको समेत थालनी गरिसकेको छ । हालका लागि पश्चिम एयर बेसमा एमआई–१७ सहितका २ वटा हेलिकोप्टर नियमित रुपमा तैनाथ गर्न सकिने अवस्था रहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले कर्णालीलगायत सुदूरपश्चिम र प्रदेश ५ का केही जिल्लामा विपदका बेला उद्दार तथा राहातका लागि पश्चिम एयर बेसबाट हवाई सेवा सञ्चालन गरिने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस