aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

प्रेमप्रसादको आत्मदाहबारे बालेनको टिप्पणीः राज्य नै दोषी हो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ माघ २०७९
प्रेमप्रसादको आत्मदाहबारे बालेनको टिप्पणीः राज्य नै दोषी हो

काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेनले) प्रेम प्रसाद आचार्यले आत्मदाह गर्नुको दोष राज्यलाई दिएका छन् । मेयर साहले सामाजिक सञ्जान मार्फत एक स्टाटस लेख्दै आत्मदाहका धेरै कारणहरु रहेपनि आचार्यले आत्मदाह गर्नुको ठूलो कारण राज्य हो भनेका छन् ।

उनले लेखेका छन्, ‘एकजना नागरिक आफुले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफुले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफुमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो ।’

साथै उनले सबै भन्दा भयानक संकेत राज्यको चरम असफलता रहेको बताएका छन् । ‘उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ’, उनले भनेका छन्, ‘राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।’

नागरिकका रुपमा, जनप्रतिनिधिकारुपमा, सत्ताका अगुवाकारुपमा, सञ्चारमाध्यमका रुपमा पनि सबै असफल भइरहेका उनले बताएका छन् । नागरिकले गर्नु पर्ने सामान्य दायीत्व पुरा गर्नु पर्ने चेत हाम्रो नभएको भन्दै उनले भनेका छन्, ‘हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन । जनप्रतिनिधीकारुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन । प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ ।’

सत्ताका अगुवाकारुपमा त्यो सबै समिकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा सत्तास्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनमा ध्यानमग्न भएको उनले बताएका छन् । सञ्चार माध्यमका रुपमा कसैको व्यवसाय प्रवर्द्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरु तयार पार्ने बारेमा रुचि नभएके भन्दै कुनै अमुक पदमा भएको व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर ठुला ठुला समाचार बनाउनुमा व्यस्त रहेको समेत उनको आरोप छ । 

‘एकैपल्ट यति धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन् । त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो । उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु’, उनले लेखेका छन् । 

कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ति सिपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरुको निर्माण गर्नेमा असाध्यै संवदेनशील भएर काम गरिरहेको उनको भनाई छ ।

‘उनको मागहरू मध्ये काठमाडौं महानगरको  क्षेत्राधिकारमा पर्ने कामहरू पनि हुदै छन् । नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भुमिकाबाट कठोर भइ निभाउन अपिल गर्दछु । सबैले नियमको पालना गरौँ । सबैले नियमभित्र रहेर व्यवहार गरौँ । फेरि पनि  प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली छ’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस