aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

सरकारले फरार अभियुक्तको सूचीमा राखेका सांसद कोइरीको पक्षमा प्रदर्शन

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • विहीबार, १२ माघ २०७९
सरकारले फरार अभियुक्तको सूचीमा राखेका सांसद कोइरीको पक्षमा प्रदर्शन

जनकपुरधाम । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको पक्षमा जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

सांसद कोइरीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि पक्राउ नगरिएको भन्दै चौतर्फी आलोचना भइरहेको समयमा उनका समर्थकहरुले उनको पक्षमा प्रदर्शन गरेका हुन् ।

मधेस आन्दोलनका अगुवा दिनेश पूर्वेको अगुवाइमा जनकपुरधामको भानुचोकबाट नागरिक समाजले आज निकालेको र्यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । प्रदर्शनमा सहभागीहरुले सरकार तथा प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए ।

नागरिक अगुवा रामरिझन यादवले जनताको मतबाट निर्वाचित सांसद कोइरीलाई राज्यले बदनियतपूर्ण ढंगले फसाउन खोजेको आरोप लगाए । उनले मधेसका आन्दोलनकारीले थमन विकको हत्या गरेको र घटनाको समयमा त्यहाँ सांसद कोइरीको उपस्थिति समेत नरहेको दाबी गरे ।

‘आन्दोलनकारीले प्रहरीको हत्या गर्दा मुद्दा नलाग्ने, सिभिल ड्रेसमा रहेका प्रहरीले आन्दोलनकारीको हत्या गर्दा समेत मुद्दासम्म दर्ता गर्न नमान्ने यो कहाँको न्याय हो ?’उनले भने ।

जनताले निर्वाचित गराएका सांसद कोइरीविरुद्ध झुटा मुद्दा लगाएर सरकारले अपनाएको रबैया जनताको अभिमत बिरुद्ध रहेको यादवको भनाई थियो । मधेस आन्दोलनका क्रममा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असइ थमन विकको २०७२ साल भदौ २५ गतेमा हत्या भएको थियो । सो मुद्दामा २०७५ साल साउन २८ गतेमा जिल्ला अदालत महोत्तरीले सांसद कोइरी सहित, प्रदेश सांसद अभिराम शर्मा, रामाशंकर मिश्र, सुरेन्द्र पाण्डेय, धमेन्द्र रायलगायत २८ जनामाथि मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस