aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

नागरिक उन्मुक्तिले गठबन्धन छोड्ने संकेत, राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ता

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • विहीबार, १२ माघ २०७९
नागरिक उन्मुक्तिले गठबन्धन छोड्ने संकेत, राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ता

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभाको उपनिर्वाचनका लागि तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । सत्तागठबन्धनबाट नेकपा (एमाले) का कुमार दसौँदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । सत्तापक्ष गठबन्धनमै रहे पनि नागरिक उन्मुक्ति पार्टीले छुट्टै उम्मेदवारी दर्ता गराएको छ ।

रोल्पा निवासी दसौदी एमालेका केन्द्रीय सदस्य हुन् भने नेपाली कांग्रेसका उम्मेदवार आचार्य रोल्पाका पूर्वजिल्ला सभापति हुन् । चार दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय आचार्य पार्टीमा महासमिति सदस्य हुन् ।

एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो । उपनिर्वाचनका लागि माघको २५ गते घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् ।

लुम्बिनी प्रदेशमा कूल मतदाता सङ्ख्या तीन सय पाँच छ । जसमध्ये प्रदेश सांसदको सङ्ख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको सङ्ख्या दुई सय १८ रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । प्रदेशका एक सय नौ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ ।  

प्रतिक्रिया दिनुहोस