aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छः महामन्त्री थापा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ माघ २०७९
राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा महामन्त्री थापाले राष्ट्रपतिको निर्वाचनका लागि समय धकेल्ने प्रयास भइरहेको भन्दै निर्धारित समयमै उक्त चुनाव हुनुपर्ने धारणा राखेका हुन् ।  

संविधान र निर्वाचन कानून बाँझिएकाले समय धकेल्ने प्रयास भइरहेको भन्दै थापाले भने, “राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ । यो बेलामा नेपाली कांग्रेसले आफ्नो उम्मेदवारलाई जिताउन प्रयास गर्छ ।”

पार्टीले राष्ट्रपतिको उम्मेदवारबारे केही दिनभित्र निर्णय गर्ने बताउँदै थापाले सोही उम्मेदवारलाई जिताउन सबै पार्टीसँग आह्वान गरिने बताए । उनले भने, “खासगरी नेकपा (माओवादी) केन्द्रले कांग्रेसको उम्मेदवारलाई मत हाल्ने अपेक्षा हाम्रो हो, किनभने पुष्पकमल दाहाल गोरखाबाट जितेर आउँदै गर्दा त्यहाँ कांग्रेसको मत परेको छ । म काठमाडौँमा विजयी हुँदा त्यहाँ माओवादीको मत परेको छ ।”

महामन्त्री थापाले पाँच वर्षका निम्ति मत मागेर आएको बताउँदै अहिले विभिन्न बहाना बनाएर जनताको मतलाई दुरुपयोग गर्न नपाइने उल्लेख गरे । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिइसकेपछि राष्ट्रपति पद नेपाली कांग्रेसको उम्मेदवारलाई दिनुपर्ने भन्दै थापाले भने, “त्यसो भयो भने राजनीतिमा सन्तुलन ल्याउँछ ।”

महामन्त्री थापाले एकल तागतका आधारमा पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखे । अरुसँग मिलेर जाँदा कांग्रेस बलियो नहुने विगतले देखाइसकेको भन्दै पार्टीलाई एकढिक्का बनाएर जानुको विकल्प नभएको थापाले बताए । नेपाली कांग्रेस नयाँ कार्यक्रमका साथ पुनः जनतामाझ आउने थापाको भनाइ थियो । फागुन ७ गतेभित्र भातृसंस्थाले पूर्णता पाउने र वैशाखमा नीति अधिवेशन गर्ने तयारी भइरहेको महामन्त्री थापाले बताए । सरकार नहुँदैमा सबै सिद्धियो भन्ने सोच्नु गलत रहेको भन्दै उनले अब त्यसमै अल्झिएर बस्न नहुने बताए ।   

प्रतिक्रिया दिनुहोस