aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

म्यानमारमा अफिम उत्पादन नौ वर्षकै उच्च, अफिम अर्थतन्त्रको आकार २ अर्ब डलर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ माघ २०७९
म्यानमारमा अफिम उत्पादन नौ वर्षकै उच्च, अफिम अर्थतन्त्रको आकार २ अर्ब डलर

एजेन्सी । संयुक्त राष्ट्रसंघले गत बिहीबार एक प्रतिवेदन जारी गर्दै सन् २०२२ मा म्यानमारमा अफिम उत्पादन विगत नौ वर्षको स्तर नजिक पुगेको जनाएको छ । सन् २०२२ मा म्यानमारमा ७ सय ९५ मेट्रिक टन अफिम उत्पादन भएको थियो जुन अघिल्लो वर्ष ४२३ मेट्रिक टन थियो। सन् २०२१ मा नै म्यानमारमा सैनिक विद्रोह भएको थियो ।

अफिमको उत्पादनमा भएको यो वृद्धिले म्यानमारको कमजोर आर्थिक अवस्था र असुरक्षित वातावरणको कथा बताउँछ भन्ने संयुक्त राष्ट्रसंघको विश्वास छ । अफिम उत्पादनमा बृद्धि हुनुको एउटा कारण हेरोइन बनाउन प्रयोग हुने अफिम रेसिनको विश्वव्यापी मूल्यमा भएको वृद्धि हो ।

संयुक्त राष्ट्रसंघको विश्वव्यापी अपराध र लागूऔषध नियन्त्रण निकायका क्षेत्रीय प्रतिनिधि जेरेमी डगलसले सैन्य विद्रोहले आर्थिक, सुरक्षा र सुशासनका पक्षहरूमा परिवर्तन ल्याएको र किसानहरूलाई अफिम उत्पादनमा फर्कने उपायहरू बाहेक धेरै विकल्पहरू बाँकी नभएको बताए।

जहाँ म्यानमार, थाइल्याण्ड र लाओसको सिमाना छ, त्यसलाई स्वर्ण त्रिभुज भनिन्छ। यी क्षेत्रहरू ऐतिहासिक रूपमा अफिम र हेरोइन उत्पादनको प्रमुख स्रोतका रूपमा परिचित छन्।

सन् २०२२ मा म्यानमारको अर्थतन्त्र बाह्य र आन्तरिक धक्काबाट प्रभावित भएको राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ । यसमा रुस–युक्रेन युद्धदेखि राजनीतिक अस्थिरता र बढ्दो मुद्रास्फीति सम्मका सबै कुरा समावेश छन्। यस्तो अवस्थामा अफिम खेती गर्ने किसानलाई धेरै फाइदा हुन्छ ।

अफगानिस्तानपछि म्यानमार विश्वमा दोस्रो ठूलो अफिम उत्पादक देश हो। विश्वमा बिक्री हुने सबैभन्दा बढी हेरोइनको स्रोत दुवै देश हुन् । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार म्यानमारको अफिम अर्थतन्त्रको आकार २ अर्ब डलर छ ।

योसँगै यस क्षेत्रमा करिब १० अर्ब डलरको हेरोइनको व्यापार हुन्छ । पछिल्लो दशकमा म्यानमारमा आर्थिक अवस्था सुधारका साथै सरकारले अन्य बालीलाई प्रोत्साहन गर्ने योजनाका कारण अफिम उत्पादनमा कमी आएको थियो ।

तर अब संयुक्त राष्ट्रसंघले गरेको वार्षिक अफिम सर्वेक्षणले म्यानमारमा फेरि एकपटक अफिम उत्पादन बढेको खुलासा गरेको छ । सन् २०१३ पछि सबैभन्दा धेरै उत्पादन सन् २०२२ मा भएको छ ।

सन् २०१३ मा म्यानमारमा ८७० मेट्रिक टन अफिम उत्पादन भएको थियो । जबकि, २०२२ मा यो संख्या ७९५ मेट्रिक टन थियो। सैन्य विद्रोहपछि म्यानमारमा सिन्थेटिक औषधिको उत्पादनमा उल्लेख्य वृद्धि भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । हालैका वर्षहरूमा, सिंथेटिक ड्रग्सले म्यानमारको युद्धग्रस्त सीमा क्षेत्रमा कार्यरत सशस्त्र बलहरूलाई आर्थिक सहयोग गर्न अफिमको ठाउँ लियो।

तर, सिंथेटिक औषधिको उत्पादनभन्दा अफिम उत्पादनमा बढी श्रम चाहिन्छ। तर सैन्य विद्रोह र आर्थिक संकटबाट ग्रस्त देशमा, जहाँ वैकल्पिक रोजगारीका धेरै स्रोतहरू समाप्त भइसकेका छन्, अफिम उत्पादन एक लाभदायक सम्झौता बन्छ। बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस