aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

अन्तराष्ट्रिय हवाई मापदण्ड प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा विज्ञहरुको जोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ माघ २०७९
अन्तराष्ट्रिय हवाई मापदण्ड प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा विज्ञहरुको जोड

काठमाडौं । मुलुकको हवाई सुरक्षा सुरक्षित र भरपर्दो बनाउन अन्तर्राष्ट्रिय मापदण्ड र सिफारिसको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला विज्ञले जोड दिएका छन् । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान र एयरलाइन्स अपरेटरले अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप नागरिक उड्डयन ‘सेफ्टी र सेक्युरिटी’को पूर्ण पालना गरिरहँदा पनि हवाई दुर्घटना बढिरहेको भन्दै उनीहरुले सम्भावित जोखिम न्यूनीकरणका लागि संरचनागत एवम् नीतिगत सुधार गरिनुपर्ने खाँचो औँल्याए । 

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वयसमितिको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव, क्यानका पूर्वमहानिर्देशक, हवाई इञ्जिनियरिङ क्षेत्रका विज्ञले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले सिफारिस गरेका हवाई सुरक्षा मापदण्डको पूर्णपालना गरेर नेपालको आकाश सुरक्षित रहेको सन्देश दिनुपर्ने बताए । साथै उनीहरुले, नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन स्रोत साधन र दक्ष जनशक्तिको अभाव रहेको भन्दै सोको व्यवस्थापकीय पक्ष बलियो बनाउन सुझाए ।

क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतमले आइकाओले नेपालको हवाई सुरक्षा सुधारका लागि दिएको निर्देशन परिपालना प्रभावकारी नहुदाँ हवाई दुर्घटनाको जोखिम बढिरहेको उल्लेख गर्नुभयो । उहाँले हवाई सेवा सुरक्षित बनाउन नियमनकारी निकायको दक्षता अभिवृद्धि गरिनुपर्ने खाँचो औँल्याए । “हालै एटीआर जहाजको दुर्घटनाले नेपालको उड्डयन क्षेत्रलाई ठूलो धक्का दिएर गएको छ । विश्वव्यापी हवाई मापदण्डको प्रभावकारी परिपालना गर्दागर्दै पनि किन नेपालमा बारम्बार यस किसिमका घटना भइरहेका छन् कतै पुरै प्रणालीलाई नै सुधार गर्नुपर्ने होकी, दुर्घटनामा मानवीय पक्षलाई मात्रै दोष दिएर हुन्न, आइकाओको सिफारिस तत्काल लागू गरिनुपर्छ”, पूर्वमहानिर्देशक गौतमले भने । उनले नेपालको हवाई दुर्घटनाको कारण र आगामी दिनमा सेवा सुधारको दीर्घकालीन समाधानका लागि विज्ञ सम्मिलित स्वतन्त्र दुर्घटना अनुसन्धान बोर्ड स्थापना गर्न सुझाव दिए ।

क्यानकै पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाले हवाई दुर्घटनाले नेपालको यससम्बन्धी सेवा असुरक्षित रहेको भन्ने नकारात्मक सन्देश प्रवाह नगर्न सबै गम्भीर हुनुपर्ने बताए । उनले हवाई सुरक्षा थप सुरक्षित र भरपर्दो बनाउने काममा सम्बन्धित निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । पूर्वपर्यटन सचिव यज्ञ गौतमले हवाई दुर्घटना शून्य अवस्थामा पुर्याउन नियामक, अप्रेटरदेखि सरोकारवाला उत्तिकै जिम्मेवार हुनुपर्ने धारणा राखे । उनले भने, “दुर्घटना हँुदैन भन्ने हुँदैन तर, दुर्घटना दर शून्यतर्फ कसरी लैजाने भन्नेतर्फ आइकाओको मार्गदर्शन पूर्णरुपमा पालना गर्नुपर्छ ।”

उनले पोखरामा हालै भएको एटीआर जहाज दुर्घटना सबैभन्दा दुर्भाग्यपूर्ण हो भन्दै दुर्घटनापछि गठन हुने जाँच आयोगको प्रतिवेदनको अनुगमन र कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । नेपाल वायुसेवा निगमका पूर्वबोर्ड सदस्य इन्जिनियर अच्युत पहारीले नेपालको हवाई दुर्घटना न्यूनीकरणका लागि आईकाओले निर्दिष्ट गरेका मापदण्डको पूर्णपालना गरिनुपर्नेमा जोड दिए । उनले नेपालको हवाई सेवा सुरक्षित र भरपर्दो बनाउन दक्ष जनशक्तिको व्यवस्थापनमा वायुसेवा सञ्चालकले ध्यान दिनुपर्ने खाँचो औँल्याए । समितिका सभापति दिलकुमारी रावल थापा पार्वतीले नेपालको हवाई आकाश सुरक्षित, भरपर्दो बनाउन र आगामी दिनमा सम्भावित हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायले गर्नुपर्ने कामको सहजिकरण गर्ने उद्देश्यले समितिले विज्ञलाई बोलाएर छलफल गरेको बताए । उनले विज्ञहरुको सुझाव लिएर सरकार र नियामक निकायले हवाई सुरक्षा सुदृढ बनाउन आगामी दिनमा गर्नुपर्ने आवश्यक कामबारे सिफारिस गरिने बताए ।  

प्रतिक्रिया दिनुहोस