
स्याङ्गजा जिल्ला वालिङ्ग नगरपालिका २ निवासी २२ वर्षीय सागर कोइराला यस क्षेत्रक युवा कृषि उद्यमी हुन अन्य युवायुवतीको जस्तो रमाइलो र मोजमस्तीमा समय नि गर्ने बेला उनी भने ‘चिसापानी पशुपंक्षी फार्म’ नामको आफ्नै फार्ममा कुखुरा र बाबा रमाइरहेका भेटिन्छन् । समान्य ग्रामीण परिवारको सन्तानको रूपमा आइपर्ने व्यावहारिक जिम्मेवारी र कठिनाइलाई सामना गर्न ३ महिने विद्युतीय उपकरण मर्मतको तालिम लिई सागरले पसल सञ्चालन पनि गरे ।
तर, सोचे अनुरूप पसल सञ्चालन हुन सकेन । त्यसबाट उनले आफूलाई असफल जस्तो नै महसूस गरे उनका बुबाले सुख दुखले जम्मा गरेको पैसा पसलमै डुबेपछि छरछिमेकमा अरूले कुरा काट्लान् भनी चिन्तित हुन लागे । नेपालमा बसि केही गर्न सक्ने विकल्प नदेखिएपछि सागर ऋण धन गरेरै भएपनि विदेशिने सोचे ।
जापानिज भाषा सिक्न थाले । भाषा सिक्ने क्रममा जापानमा गएर गर्नुपर्ने कामको बारेमा बुझ्दा त्यहाँ कुखुरा फार्ममा काम गर्नुपर्ने भन्ने जानकारी भयो । आफ्नो बाँझो जमिन छाडेर विदेश गई गर्नुपर्ने कामले सागरको मन पनि कुँडियो । यसै क्रममा स्थानीय तहमा कुखुरा पालन व्यवसायको अवस्थाका बारेमा पुराना व्यवसायीहरूसँग परामर्श गर्न थाले ।
स्थानीय प्रजातिका कुखुराको माग अत्यधिक भएको र आपूर्ति पूरा गर्न नसकेको स्थिति व्यवसायीहरूबाट पत्ता लाग्यो । स्थानीय बजारमा कोइलरलाई लोकल भनी बिक्री बितरण गरिरहेको देखेका सागरले लोकल कुखुराको उत्पादन तथा संरक्षण गर्ने उद्देश्य लिई घरेलु तथा साना उद्योग विकास समितिमा वि.सं २०७६ भदौ २२ गते ‘चिसापानी पशुपंक्षी फार्म’ नाम राखी फार्म दर्ता गराए र तत्पश्चात् आफ्नो बाँझो जमिनमा तार जाली लगाई १०७ वटा स्थानीय जातको कुखुरा राखे ।
नयाँ व्यवसायमा हात हालेकोले सुरूवाती दिनमा अफ्ठ्यारो परिस्थतिको सामना गर्नुपरे तापनि विस्तारै सबै कुरा मिल्दै गयो । जातको कुखुरा राख्ने क्रममा उनले अर्को नयाँ कुरा थाहा पाए । त्यो के भने नेपालमा कही स्थानीय प्रजातिको चल्ला पाइने नै रहेनछ । स्थानीय भनी बिक्री बितरण भएका चल्ला त वास्तविक स्थानीय नभई अन्य आयातित जात मात्र रहेछन् । त्यसपछि आफैले स्थानीय जातको चल्ला उत्पादन गर्ने उद्देश्यले ह्याचिङ मेसिन रख्ने सोच बनाए सागरले तर त्यसको लागि ठूलो लगानी आवश्यक थियो जुन उनीसंग थिएन ।
अब गाउँघरमा ऋण धन गर्ने कि बैंकबाट कारोवार गर्ने भन्ने सोच्दै थिए त्यसैबेला विभिन्न व्यवसाय सञ्चालन गर्दै आइरहेका व्यवसायहरूले कृषि विकास बैंकको सेवाबारेमा थाहा पाएको थिए । तर, धितोको लागि आफ्नो पाखो जमिन मात्र रहेको र त्यसैमाथि सरकारी बैंकले उनलाई पत्याउछ जस्तो लागेको रहेनछ । तैपनि एकपटक जाउँ न भन्ने उनको सोचले बैंकसम्म पुगे ।
उनको पृष्ठभुमि र भावि योजना सम्म सुनिसकेपछि बैंकका कर्मचारीहरू सकरात्मक पाइए बैकका कर्मचारीहरूले कर्जा कारोबारमा ध्यान पुयाउनुपर्ने कुराहरू र लाग्ने व्याज लगायतका कुराहरू स्पस्ट पारिदिएपछि आफ्नो ठूलै भारी बिसाए जस्तो भो सागरलाई केही समय पहिलेसम्म कृषि विकास बैंक प्रतिको उनको धारणा कृषि बैंक ठूला उद्यमीहरूको लागि मात्र हो भन्ने थियो । त्यो पूर्ण रूपमा परिवर्तन भयो आफूसँग राम्रो व्यावसायिक योजना छ भने कृषि विकास बैंकबाट ऋण लिन घितो मात्र सबै कुरा होइन रहेछ भन्ने कुरा समेत थाहा भयो । सागरले करिब १० दिनमा सबै कागजात तयार गरी बैंकमा बुझाए र कागजात बुझाएको ३ दिनको दिनमा बैंकबाट कर्जा स्वीकृत भएको जानकारी पाइहाले ।
बैंकबाट स्थिर पुँजी कर्जा १० लाख रुपैयाँ र चालु पुँजी कर्जा १४ लाख रुपैयाँ गरी जम्मा २४ लाख रुपैयाँ कर्जा स्वीकृत भएपश्चात आठ हजार अण्डा क्षमताको ह्याचिङ्ग मेसिन जडान गर्ने काम भयो । त्यसैगरि स्थानीय प्रजातिका एक हजार आठ सय कुखुरा तथा दुई हजार बढी चल्ला एकैसाथ हुर्काउँदै र बिक्री गर्दै व्यवसायले राम्रै गति लिन थाल्यो ।
यसका साथै फार्ममा एक सय वटा स्थानीय जातका बाख्रा र एउटा बोयर बोका थप्ने काम पनि भयो । जसबाट क्रस गरी निकट भविष्यमै बोयर फार्म पनि सञ्चालन गर्ने सोचमा उनी पुगेका छन् । यो लगायत सागरको फार्ममा हाल कालिज दुई सय वटा, लौकाट एक सय ५० वटा, टकी एक सय वटा र बट्टाई एक हजार वटा रहेका छन् भने तिनका ६ सय अण्डा दैनिक बिक्री भइरहेका छन् । सञ्चालनको क्रममा आफ्ना जग्गामा ठाउँ अभाव हुन लागेकोले छिमेकीको जग्गा भाडामा लिएर नयाँ खोर पनि बनाउदै छन्, सागर ।
उनको फार्मको उत्पादन खपतको प्रमुख स्थानहरूमा स्थानीय बजार, होटल, पार्टी प्यालेस तथा वालिङ्ग, चापाकोट, बुटबल, पाल्पा तथा पोखरा लगायतका बजार रहेका छन् । वर्तमान अवस्थामा उत्पादनले बजारको माग थेग्न सकिरहेको छैन भने अर्कोतिर बजारको प्रचुर उपलब्धता रहेकोले पनि नयाँ व्यवसाय सञ्चालन गर्न खोज्ने÷चाहानेहरूको लागि यही व्यवसायमा लाग्नको लागि सल्लाह पनि दिन उनी चाहन्छन् ।
आजभोलि सागरको व्यवसायमामा उनले आम्दानीबाट किनेको मोटरसाइकल धेरै सहज बनाएको छ । उत्पादन स्थानीय ठाउँमा माग भई आएको बेला पुर्याउन एकदमै सजिलो भएको छ । वैदेशिक रोजगारीको चक्करमा बिचमै छाडेको पढाइलाई पनि उनले निरन्तरता दिन पाएका छन् । साथै वैदेशिक रोजगारीको लागि विदेशिनु भएको दाजु पनि हाल उनको कामबाट प्रभावित भई छिट्टै नेपाल आई व्यवसाय अगाडि बढाउने सोचमा छन् ।
योसँगै सागरले परियोजना सञ्चालनको क्रममा २ जनालाई रोजगारी पनि दिएका छन् । परियोजना अवलोकनको लागि आउने तथा छरछिमेकीहरूले गरेको तारिफ देखि प्रसन्न देखिने आमा बुबालाई देख्दा सागरको मुहार मन झनै खुसी देखिन्छ । विदेशिएर मात्र राम्रो कमाई हुन्छ भन्ने मान्यता त्यागि आफ्नै पाखापखेरोमा रमाउन सकियो भने राम्रो कमाउन पनि सकिन्छ सबैभन्दा ठूलो कुरा परिवार हो ।
परिवारसँगै बसेर विदेशमा पसिना बगाएजत्ती वा त्योभन्दा बढी आम्दानी स्वदेशमै हुन्छ भने विदेशी अत्तरको बास्नाको पछि दौडिनु जरूरी नै छैन । स्वदेशी माटोको सुगन्धमै रमाउन सकिन्छ भन्दै कृषि उद्यम प्रतिको यस्तै यस्तै सकारात्मक सन्देश समाजमा दिँदै हिड्छन् सागर आजभोलि । (सफलताको कथाबाट साभार)
प्रतिक्रिया दिनुहोस