aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

अझै भेटिएनन् जहाज दुर्घटनामा बेपत्ता भएका एक यात्रु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ माघ २०७९
अझै भेटिएनन् जहाज दुर्घटनामा बेपत्ता भएका एक यात्रु

काठमाडौं । यही माघ १ गते कास्कीको पोखरास्थित सेती खोंचमा दुर्घटना भएको यति एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० जहाज दुर्घटनाामा परी बेपत्ता भएका एक यात्रुको खोजी कार्य जारी रहेको  नेपाली सेनाले जनाएको छ ।

काठमाडौँबाट पोखराका लागि उडेको उक्त जहाज अवतरणका क्रममा दुर्घटनापछि हराइरहेका एक यात्रु अजै भेटिएका छैनन । सेनाले खोज तथा उद्धार कार्य अझै जारी राखेको छ । कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ गते नै दुर्घटनास्थलमा खटिएको खोज तथा उद्धार टोलीलाई फिर्ता गर्ने निर्णय गरे पनि हराइरहेका एक यात्रुको खोजी कार्य दैनिकरुपमा भइरहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । 

चालक दलका चारसहित ७२ यात्रु सवार उक्त विमान पोखराको नयाँ गाउँ नजिक सेती नदीको खोचमा खसेको थियो । विमान दुर्घटनाको खबर प्राप्त हुनासाथ खोज तथा उद्धार कार्यलाई प्रभावकारीरुपमा सञ्चालन तथा समन्वय गर्न उपरथी दीपक बानियाको नेतृत्वमा केन्द्र स्थापना गरी सहायकरथी सुदर्शन सिल्वाललगायत खटिएका थिए ।   

सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको सहकार्यमा फेला परेका शवलाई परीक्षणका लागि अस्पताल पु¥याउने र ब्लाक बक्सलगायत सामग्री नेपाल नागरिक प्राधिकरणलाई हस्तान्तरण गरेको थियो । संयुक्त टोलीले खोज तथा उद्धारको क्रममा दुर्घटनामा परेका ७१ जनाको शव फेला पारेको थियो ।

दुर्घटनास्थल खोच र कठिन भौगोलिक अवस्थाका कारण शव जल्नुका साथै टुक्रिएर छरिएकाले सङ्कलन र उद्धारका लागि विपद् व्यवस्थापनसँग सम्बन्धित विशेष फौज परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस