aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

'अनागरिक रवि' र पहेँलो पासपोर्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ माघ २०७९
'अनागरिक रवि' र पहेँलो पासपोर्ट
  •  नविन अधिकारी 

तपाईँलाई नेपालका पासपोर्टका विभिन्न रङ्गहरू र त्यसको अर्थ वा उपयोगिताका बारेमा अवश्य पनि थाहा होला। यदि थाहा छैन भने पनि चिन्ता नगर्नुस् अबको पहिलो अनुच्छेद त्यसकै व्याख्यामा केन्द्रित छ। 

पहिला हरियो र आजकल चकलेट ब्राउन रङ्गको पासपोर्ट सर्वसाधारण अर्थात् भुइँमान्छेले प्रयोग गर्ने। यसरी पनि बुझौँ कि मध्य माघको काठमाडौँको जाडोमा त्रिपुरेश्वरमा लाइन लाग्न अघि राति २ बजे  गएकाहरूले ३ दिनपछि पाउने पासपोर्टको रङ्ग हो, चकलेटी । रातो रङ्गको कुटनैतिक (डिप्लोम्याटिक) पासपोर्ट। हामीले चुनाव जिताएर पठाएकाहरुले व्यापारीलाई बेच्ने गरेको भनेर बदनाम बनेको रङ्ग हो यो। निलो: सरकारी कर्मचारीको अफिसियल भ्रमणमा प्रयोग गरिने पासपोर्टको रङ हो।

यो रङ्गको पासपोर्ट बोकेर विदेश घुम्न पाउनुलाई हाम्रो कर्मचारी तन्त्रले अहोभाग्य नै मान्ने गरेको छ। त्यो अवसरको लागी हाकिमको चाकरी देखी दाता निकाय र गैर सरकारी संस्थाको समेत स्तुति गान गाउँछन् तिनीहरूले हाम्रो नेपालको राष्ट्रिय गान भन्दा शायद बढी पटक। अर्को छ, सुन्तला रङ्ग। यो रङ्गको पासपोर्ट शान्ति सेनामा जाने सैनिकको लागि प्रयोग हुन्छ। शान्ति सेनामा जाने र लानेको राजनीति नेपाली सेनामा कति छ र हुन्छ त्योबारे अर्कै आलेख बन्छ। 

तर, के तपाईँलाई थाहा छ? भारतमा पहेँलो रङ्गको पनि पासपोर्ट हुन्छ। यो त्यहाँ रहेका तिब्बती शरणार्थीको लागि दिइने पासपोर्ट हो। सन् १९५० देखि १९८७ सम्म जन्मेका र यस्ता पहेँला पासपोर्ट बोक्ने तिब्बतीलाई भने भारतीय साधारण पासपोर्ट (कालो) सँग सट्टापट्टा गर्न दिनु भन्दै हालसालै त्यहाँको सर्वोच्च अदालतले फैसला गरेको थियो। 

खासमा पहेँलो पासपोर्टलाई पासपोर्ट भनिँदैन। बरु, परिचय प्रमाणपत्र (identity certificate) भनिन्छ। तर, सामान्य पासपोर्टमा झैँ यसका भित्र पानाहरू भिसा  लगाउनैका लागि बनेका हुन्छन्। त्यसमा सबै मुलुकहरूमा भ्रमण गर्न योग्य  (valid to travel all countries) लेखिएको हुन्छ। यसको अर्थ के हो भने भारत सरकारले यी पासपोर्ट जारी गरेर यसका बाहक शणरार्थीहरुलाई विदेश जान, भारत फर्कन सहयोग चाहिँ गर्‍यो तर प्रस्टसँग बतायो की यिनीहरू भारतका नागरिक हैनन्। यिनीहरू कहीँका पनि नागरिक हैनन्, "अनागरिक" हुन्। 

यो पंतिकार कै कतिपय भुटानी साथी थिए/ छन् जो नेपालमा जन्मे। उनीहरूले कहिल्यै भुटान देखेनन्। त्यहाँ उनीहरूको कुनै कागज या रेकर्ड हुने कुरै भएन। नेपालमा उनीहरूको परिचय "भुटानी" दिइयो।‌ नेपालले अरू केही प्रमाण दिने कुरा पनि भएन। उनीहरू पनि अनागरिक थिए/ हुन्। 

माओवादी शान्ति सम्झौतामा आएपछि सबै जस्तो शीर्ष दलका टाउके नेता मिलेर नेपाल भारत सिमानामा चकलेट जसरी नागरिकता बाँडे। करिब ४ देखि पाँच लाख विदेशीलाई ०६३/०६४ सालतिर बाँडिएको यस्ता नागरिकता बाहक त नेपाली नागरिक बने। तर, तिनका सन्तान झन्डै ६/७ लाख युवायुवती अहिले नेपालमा अनागरिक छन्। ०६३/०६४ पछि नेपाल मै जन्मेकाले पनि अब नागरिकता बनाउने उमेर भयो। उनीहरूको विदेशसँग कुनै साइनो छैन, उताको कागज पाउने सम्भावना नै छैन। यता उनीहरूलाई नेपाली नागरिकका रूपमा स्विकारिएन, बरु उनीहरूको नाममा राजनीति गरियो। त्यसैले उनीहरू पनि "अनागरिक" बन्न पुगे। 

आज रबी लामिछानेको विषयमा विदेशबाट विद्धानहरूले "कुनै व्यक्ति अनागरिक बन्न सक्दैन, अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लड्न सकिन्छ" भनेको, नेपालकै कति विद्धानले "यो सिङ्गो धर्तीमा एक मात्रै अनागरिक व्यक्ति रबी भएको" भन्दै चिच्याएको सुन्दा म जस्तै धेरैलाई पक्कै पनि ती लाखौँ वास्तविक अनागरिकको फेरि सम्झना आयो होला। विद्धान वर्गसम्म यो कुरा कसले पुर्याईदेला कुन्नि। 

प्रतिक्रिया दिनुहोस