aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

रवि लामिछानेको नागरिकतामा कुन नम्बर ?

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • सोमबार, १६ माघ २०७९
रवि लामिछानेको नागरिकतामा कुन नम्बर ?

काठमाडौं । सर्वोच्च अदालतको गत शुक्रबारको आदेशपछि नागरिकताविहीन बनेका रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । अमेरिकी नागरिकता त्याग गरेको ‘निस्सा’ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरेपछि उनले पुनः नागरिकता प्राप्त गरेका हुन् ।

सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रहेका लामिछानेले लिएको नागरिकता अवैध ठहर गरेपछि उनी नागरिकताविहीन भएका थिए । लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगी कानुनी प्रक्रिया पुर्‍याएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । 

लामिछानेका सचिवालय प्रमुखसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले सर्वोच्चको आदेशपछि आवश्यक प्रक्रिया पुर्‍याएर लामिछानेले पुनः नागरिकता प्राप्त गरेको र नागरिकताको प्रमाणपत्रमा २०५० सालमा उल्लेख पुरानै नम्बर कायम भएको जानकारी दिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले लामिछानेले नागरिकता ऐन २०६३ को दफा ११ र नागरिकता नियमावलीको नियम ११ बमोजिम कागजात पेस गरेपछि नागरिकता प्रदान गरिएको जानकारी दिए ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुनबमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरेको थियो । सर्वोच्चको सो आदेशपछि उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस