भैरहवा । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि जग्गा विवाद सुरु भएको छ। विमानस्थलले अधिग्रहण गर्न खोजेको जग्गाका धनीले लालपुर्जा फिर्ता लगेका छन्। विमानस्थलले अधिग्रहण क्षेत्रमा पारेको कचरिहवा गाउँको जमिनमा सम्झौताअनुसार नभएको आरोप लगाउँदै २५ घरधुरीले विमानस्थललाई बुझाएको लालपुर्जा फिर्ता लिएका हुन् । उनीहरूले विमानस्थललाई जग्गा नदिने बताएका छन्।
विमानस्थल अधिग्रहण क्षेत्रमा परेको ५११ नम्बर कित्ता कचरिहवा गाउँको जग्गा भएको क्षेत्र हो। यहाँ तीन बिघा पाँच कट्ठा क्षेत्रफलमा एक सय ४५ कित्ता जग्गा छ। यो जग्गामा ९० घर छन् ।
स्थानीय छोटेलाल अहिरका अनुसार विमानस्थलले १४ फिटको बाटो कट्टा गरेर बाँकी जग्गाको मुआब्जा दिने भनेपछि आफूहरूले लालपुर्जा फिर्ता लिएको बताए। 'मेरो साढे दुई धुर जमिन छ । १४ फिटको बाटो विमानस्थलले कायम गरी मुआब्जा दिँदा केही पनि बच्दैन, अरू केही नभएकोले म बिचल्लीमा परेको छु,' स्थानीय मोतिलाल हरिजनले दुखेसो पोखे।
विमानस्थलले १४ फिटको बाटो कट्टा गरेपछि ४(५ धुर जग्गा हुने घरधनीको केही पनि बाँकी नरहने अवस्था देखिएपछि उनीहरूले जग्गा दिन नमानेका हुन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस