aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

सबै कमोडिटी अवैध, कारोबार लुकिछिपी

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • मंगलबार, १७ माघ २०७९
सबै कमोडिटी अवैध, कारोबार लुकिछिपी

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट अनुमति नै नलिइ अवैध रूपमा वस्तु विनिमय बजार (कमोडिटी एक्स्चेन्ज मार्केट) सञ्चालनमा रहेको पाइएको छ । नेपाल धितोपत्र बोर्डले हालसम्म कसैलाई कमोडिटी एक्स्चेन्ज बजार सञ्चालन गर्न अनुमति नदिएको भए पनि सीमित व्यक्तिले लुकिछिपी कारोबार गरिरहेको जानकारी बोर्डकहाँ पुगेको छ ।

वि.सं. २०७४ सालमा वस्तु विनिमय बजारसम्बन्धी ऐन आएपछि त्यसअघि सञ्चालनमा रहेका कमोडिटी एक्स्चेन्च स्वतः अवैध भएका थिए । ऐनको दफा ३ बमोजिम अनुमतिपत्र प्राप्त नगरी कसैले पनि वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न नहुने व्यवस्था गरिएको छ ।

‘नेपाल धितोपत्र बोर्डले हालसम्म वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय गर्न कसैलाई पनि अनुमति प्रदान गरेको छैन’, बोर्डका अध्यक्ष रमेश हमालले अन्नपूर्ण पोस्ट्सँग भने, ‘तर, लुकिछिपी कमोडिटी बजार सञ्चालनमा आइरहेको गुनासो प्राप्त भएपछि हामी सजग भएका छौं र आम सर्वसाधारण लगानीकर्तालाई पनि होसियार रहन सूचित गरेका छौं ।’ हमालका अनुसार नेपाल प्रहरीले पनि यसरी हुने कारोबारको अनुसन्धान गरिरहेको छ ।

बोर्डले नयाँ एक्स्चेन्जलाई अनुमतिपत्र प्रदान गर्ने तयारी गरेको भए पनि सर्वोच्च अदालतमा मुद्दा परेका कारण हाल सो प्रक्रिया रोकिएको छ । बोर्डले वस्तुको विनिमय बजार सञ्चालन गर्न कम्पनी स्थापना गर्न पूर्वस्वीकृतिका लागि निवेदन दिनेसम्बन्धी सूचना गत असोज २ मा सूचना प्रकाशन गरेको थियो । तर, सर्वोच्च अदालतको अल्पकालीन आदेशअनुसार नयाँ एक्स्चेन्जलाई लाइसेन्स दिने प्रक्रिया हालका लागि स्थगित छ । यस्तो स्थितिमा बिना अनुमति वस्तु विनिमय बजार सञ्चालनमा रहेको बोर्ड अध्यक्ष हमाल बताउँछन् । त्यही सिलसिलामा बोर्डले आइतबार सूचना निकालेर जनतालाई सुसूचित पनि गराएको छ ।

बोर्डले कुनै अमुक कमोडिटी एक्स्चेन्ज बजार तथा व्यवसायीमार्फत वस्तु विनिमय बजारसम्बन्धी कुनै किसिमको कारोबार नगर्न लगानीकर्तालाई आग्रह गरेको छ । बोर्डले वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसायहरू अनुमति नलिई सञ्चालन गरेमा गैरकानुनी हुने र प्रचलित कानुनबमोजिम कारबाही हुने सूचित पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस