काठमाडौं । सर्वसाधारणको स्वास्थ्यप्रति संवेदनशील हुनुपर्नेमा सरकारले नै गुणस्तरहीन जीवनजल खरिद गरेर वितरणका लागि जिल्लातर्फ पठाएको पाइएको छ ।
आमनागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सेवा विभागले १ करोड ७८ लाख ८० हजार रुपैयाँ मूल्य बराबरका गुणस्तरहीन जीवनजल खरिद गरी वितरणका लागि जिल्लातर्फ पठाएको हो ।
विभाग आफैैले बनाएको ‘स्पेसिफिकेसन’विपरीत सो मूल्य बराबरका जीवनजल खरिद गरेको कागजात राजधानी दैनिकले फेला पारेको हो ।विभागअन्तर्गत रहेको व्यवस्थापन महाशाखाको मिलेमतोमा अनियमित तरिकाले औषधि खरिद गरेर सो रकम भुक्तानी गरेको देखिएको छ ।
औषधि व्यवस्था विभाग र स्वास्थ्य सेवा विभागले भारतको सिनकोम फर्मुलेसन कम्पनीबाट उत्पादित ‘ओरासिन’ नामक जीवनजल डिओएचएस आईसीबी ४१/१९ मा गुणस्तर (क्वालिटी) फेल भएको थियो । विभागले नै सो जीवनजल गुणस्तरमा फेल भएकाले गत आर्थिक वर्षमा खरिद नगर्ने निर्णय गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस