काठमाडौं । विद्युतीय राहदानीको उपलब्धतालाई सर्वसुलभ र सहज गराउन सोमबारदेखि एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको छ । राहदानी विभागमा दैनिक एक हजार आठ सय जनाले अनलाइन फारामको इनरोलमेन्टमार्फत बायोमेट्रिकका लागि अवसर पाउने गरेका थिए ।
अब सेवाग्राहीले आफ्नो समयानुकूल योजना बनाएर इनरोलमेन्टका लागि फाराम भर्न पाउने व्यवस्था गरिएको छ । हरेक दिन एक हजार पाँच सय जनाले अनलाइन आवेदन दिँदा त्यसको समयावधि एक महिना तोकिएकाले सो अवधिभर जुनसुकै समयमा भर्न पाउने छन् ।
थप समयमा अग्रिम बुकिङ गर्दा अर्को महिनाको थप एक दिनका लागि हुने राहदानी विभागले जनाएको छ । समय सकिन लागेमा थप एक महिनाको अवधि विभागले थप गर्दै जानेछ । विभागका महानिर्देशक सुरेन्द्र यादवले सेवाग्राहीले अहिले जस्तो एउटै समयमा फाराम भर्न कुर्नु नपर्ने बताए । उनले भने, “अब आरामसँग फाराम भरेर आफूले चाहेको मितिमा इनरोलमेन्टका लागि आउँदा हुन्छ ।”
एक महिनाका लागि अग्रिम फाराम भर्नका लागि पहिलो दिन सोमबार अपरान्ह साढे ३ बजे खुलाइयो । उनले माघ १७ गतेदेखि भने जुनसुकै समयमा भर्न सकिने गरी अग्रिम बुकिङका लागि सर्भर खुला रहने जानकारी दिए । उनका अनुसार दिउँसो भ्याइएन भने राति १० बजे अनलाइन बसेर पनि विद्युतीय राहदानीको फाराम भर्न सकिनेछ ।
यसरी अनलाइन फारामको समयावधि एक महिना गराइसकेपछि तोकिएको मितिमा मात्र सेवाग्राहीले विभाग परिसरमा पाइला टेक्दा हुने नीति विभागले अवलम्बन गरेको छ । अब हरेक जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयले पनि आफ्नो प्राविधिक क्षमताअनुसार अनलाइन फाराम अग्रिम भर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । यसले विभागमा अहिलेसम्म हुँदै आइरहेको अचाक्ली भीडभाड र अस्तव्यस्तताको अन्त्य हुने दाबी विभागले गरेको छ । विभागका निर्देशक डमरुबल्लभ पौडेलले भने, “एक महिने अग्रिम बुकिङले आफ्नो समयमा आउने र बायोमेट्रिक गरेर फर्कन सकिने भएकाले पनि सहज हुने आशा राखेका छौँ ।”
प्रतिक्रिया दिनुहोस