काठमाडौँ। हज व्यवस्थापनको क्रममा ठुलो भ्रष्ट्राचार हुने भन्दै त्यसमा रहेका विकृति अन्त गर्न माग गर्दै सिके राउतको शरणमा मुस्लिम अभियन्ताहरू पुगेका छन्। पूर्व न्यायाधीश डा. सलाहुद्दीन अख्तर सिद्धिकी संस्थापक रहेको दि मदर फाउन्डेसनले हजको नाममा हुने आर्थिक अनियमितताको खबरदारी गर्ने क्रममा नेकपा एकिकृत समाजवादीका अध्यक्ष र गृहमन्त्रालयमा समक्ष निवेदन हालेको हो।
हज कमिटीमा सुधार तथा कानुनको निर्माण गर्न माग गर्दै हालिएको निवेदनमा मुस्लिम समुदायको उत्थानका लागि संवैधानिक मुस्लिम आयोगको स्थापना भए पनि त्यसको प्रभावकारिता मुस्लिम समुदायले महसुस गर्न नसकेको उल्लेख गरिएको छ।
सो निवेदनमा लेखिएको छ- इस्लाम धर्मको पाँच अनिवार्य स्तम्भ मध्ये "हज' पनि एक हो । यस धार्मिक कार्यलाई सम्पन्न गर्न साउदी अरबको मक्का मदिनामा नै पुग्नु पर्ने अनिवार्यता मानिन्छ । यो प्रक्रिया पृथ्वी रहुन्जेलसम्म निरन्तर चलिरहन्छ । त्यसैले गृह मन्त्रालयले हज यात्रा व्यवस्थापनका लागि एउटा हज कमिटी गठन गर्दै आएको छ । जनताले आफ्नो रकम तिरी हज यात्रामा जाँदा नेपाली हजयत्रीहरुको त्यस कमिटी प्रति सधैँ असन्तुष्टि र भ्रष्टाचार सम्बन्धी गुनासो रहँदै आएको छ ।
यस्तो गुनासो आए पनि त्यसको निराकरण नभएको भन्दै ज यात्रा व्यवस्थापन सम्बन्धी कानुनको निर्माण गर्न गराउन आवश्यक पहलको लागि अनुरोध गरिएको छ। नेपालमा इस्लाम धर्मावलम्बी अल्पसङ्ख्यक भए पनि मल्लकाल भन्दा पहिले देखि नै नेपालमा सक्रिय योगदान गर्दै आएको इस्लाम धर्मालाम्बिहरुको नेपालको एकीकरणमा समेत उल्लेखनीय योगदान रहेको फाउन्डेसनले उल्लेख गरेको छ।
प्रतिक्रिया दिनुहोस