
गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित मोतीगडामा पुरानो दरबारको भग्नावशेष तथा प्राचीन विभिन्न वस्तुको अवशेष फेला परेको छ । पुरातत्त्व विभागबाट आएको पुरातत्त्वविद्द्वय देवेन्द्रनाथ तिवारी र प्रकाश दर्नालको टोलीले सो क्षेत्रमा गरेको उत्खननका क्रममा दरबार र पुराना वस्तुको भग्नावशेष फेला परेको हो ।
इतिहासविद् भरतराज रावत तथा आर्किटेक्ट रोशनी महर्जनसमेत सम्मिलित टोलीले हाल त्रियुगा जनता बहुमुखी क्याम्पस परिसरमा रहेको पुरानो मुढगडा दरबारको उत्खनन गरिरहेको छ ।
टोलीले पाँच दिनको उत्खननको क्रममा प्राचीन भग्नावशेष तथा ब्ल्याक स्टोन अर्थात् कालो पत्थर कुँदेर बनाइएका विभिन्न देवदेवीका आकर्षक मूर्तीका टुक्रा, इँटाका टुक्राहरू फेला परेको हो । दरबार क्षेत्रमा ३६ सेन्टिमिटर लामो ३२ सेमी चौडाइ र पाँच सेमि मोटाइको पुरानो इँटाले बनेको नौ मिटर लम्बाइ तथा एक मिटर चौडाइ भएको दरबारको गारो पनि फेला परेको छ ।
उत्खननमा फेला परेका अवशेषहरू इसापूर्व पहिलो वा दोस्रो शताब्दीको हुनसक्ने पुरातत्त्वविद् देवेन्द्रनाथ तिवारीले बताए । मोतीगडा स्थानीय बूढापाका र थारू समुदायमा मुढगडाको नामले परिचित छ । थारू किम्बदन्ती अनुसार जुवा खेल्ने क्रममा शाही राजा र सरस्वती रानीबीच भएको बाजीमा रानीले जुवा जितेपछि राजाको टाउको काटेपछि यस ठाउँलाई मुढगडा नामकरण भएको थियो । सोही स्थानलाई अहिले मोतीगडा भनिन्छ ।
दरबार क्षेत्रको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका विषयवस्तु पत्ता लगाउन सरकारी निर्देशानुसार उत्खनन सुरु गरिएको पुरातत्त्वविद् देवेन्द्रनाथ तिवारीले बताए । प्रारम्भिक चरणमा दरबार क्षेत्रको माटोको ढिस्कोका रूपमा रहेको भागलाई रेखाङ्कन गरेर उत्खनन गर्न सुरु गरिएको र पछि अन्य स्थानमा पनि खन्न सुरु गरिने उनको भनाइ छ । हाल फेला परेका वस्तुहरू लिच्छवी वा गुप्तकालीन कलाशैलीका मूर्तिहरू हुनसक्ने अनुमान गरिएको उदयपुरको इतिहासका लेखक तथा वरिष्ठ पत्रकार कौशल चेम्जोङले बताएका छन् । उत्खननका क्रममा फेला परेको मन्दिरको अवशेष इसापूर्व पहिलो वा दोस्रो शताब्दीको हुनसक्ने र तत्कालीन राजाको दरबार मुसलमानी आक्रमणमा परेर प्राचीन सभ्यता नष्ट भएको हुनसक्ने अनुमान गरिएको इतिहासकार चेम्जोङको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस