
काठमाडौं । समथर चौरलाई कडा चट्टानयुक्त भएको ‘गलत प्राविधिक प्रतिवेदन’ तयार बनाएर सरकारी रकम हिनामिना गरेको अभियोगमा सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायसहित सातजनालाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दायर गरको हो । मुगुको सोरु गाउँपालिका–६ मा फिल्डमा नभएको र नगरेको कामको मूल्यांकन गरी १५ लाख ४४ हजार ९ सय ३० रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, सब–इन्जिनियर मनोज धामी र सब–इन्जिनियर जगतबहादुर मल्लविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
नापी किताब र उपभोक्तासम्बन्धी बिल स्वीकृत गरी गलत प्रतिवेदन तयार गरेकाले सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरसमेत भएको हुँदा परशुराम उपाध्याय, मनोज धामी र जगतबहादुर मल्ललाई ऐ ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिमाना गर्नसमेत मागदाबी गरिएको आयोगले जनाएको छ ।
त्यसरी गलत प्रतिवेदन तयार गर्नेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा १ अनुसार कारबाही हुने अख्तियारको ठहर छ । सो दफामा सरकारी निकाय वा सार्वजनिक संस्थाको कामकाजको सिलसिलामा कुनै विषयमा जाँचबुझ गरी प्रतिवेदन दिनुपर्नेमा बदनियतपूर्वक भए गरेको कुरा लुकाइछिपाई वा नभएको नगरेको कुरा देखाई प्रतिवेदन दिने व्यक्तिलाई तीन महिनादेखि एक वर्षसम्म कैद र १० हजार रुपैयाँदखि ५० हजार रुपैयाँसम्म जरिमाना हुने व्यवस्था रहेको छ ।
आयोगको अनुसन्धानबाट फिल्डमा नभएको कार्यसमेत भएको भनी गलत नापी किताब तयार गर्ने कार्य गरेको एवं नापी किताब चेकजाँच र उपभोक्तासम्बन्धी बिल स्वीकृत गरी गलत प्रतिवेदन तयार गरेको भेटिएको छ ।
प्रतिक्रिया दिनुहोस