
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिहीबार एउटा आक्रोशपूर्ण अभिव्यक्ति सार्वजनिक गरे । फेसबुकमार्फत उनले घेराबन्दीमा हाल्न आफू अभिमन्यु नभएको बताए । उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’
कुरुक्षेत्रको युद्धमा कौरव पक्षका प्रधानसेनापति द्रोणाचार्यले पाण्डव पक्षलाई कमजोर पार्न चक्रव्यूहको रचना गरेका थिए । उक्त चक्रव्यूहभित्र पस्ने र छिचोल्ने सामथ्र्य पाण्डव पक्षतर्फ अर्जुनमा मात्र थियो । यसकारण अर्जुनलाई अल्झाएर टाढा पुर्याइयो । अर्जुनपुत्र अभिमन्यु चक्रव्यूहभित्र छिर्न त सक्थे तर बाहिर निस्कने सीप उनमा थिएन । यही कमजोरीमा कौरव पक्षको समस्त महारथीले अभिमन्युलाई घेराबन्दीमा हालेर हत्या गरेका कथा महाभारतमा पाइन्छ ।
रास्वपा सभापति लामिछानेले यही कुरालाई इंगित गर्दै आफू अभिमन्यु नभएको टिप्पणी गरेका छन् । तर आफूलाई कसले घेराबन्दीमा हाल्यो ? त्यो भने उनले पूर्ण रूपमा खुलाएका छैनन् । उनी पछिल्ला केही दिनयता आलोचनाको केन्द्रमा छन् । आफ्नै पार्टीभित्रबाट आलोचना हुन थालेपछि सम्भवतः उनको यस्तो अभिव्यक्ति आएको हुनसक्छ । लामिछानको नागरिकता विवादसम्बन्धी सर्वोच्च अदालतको फैसलापछि रास्वपा पनि विवादको भुमरीमा परेको छ । पार्टीका नेताहरू ‘अब के गर्ने ?’ भन्ने विषयमा तीन समूहमा विभक्त भएका छन् । नेतृत्वका विषयमा नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि पोख्न थालेका छन् । सर्वोच्च अदालतको फैसलाले गुमेको उपप्रधान तथा गृहमन्त्री पद पाउन लामिछानेले गरेको दौडधुप र त्यसले सिर्जना गरेको राजनीतिक तरंग नै अहिले रास्वपाभित्र विवादको मूल कारण बनेको छ । लामिछानेले लिएको राहदानी पनि विवादमा परेको छ ।
अध्यागमन ऐन उल्लंघनलगायत उनका आधा दर्जन गल्ती सञ्चारमाध्यममा आएका छन् । कम्तीमा नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ र राहदानी छानबिन नसकिएसम्म लामिछानेलाई पुरानो जिम्मेवारीसहित सरकारमा नफर्काउने अडान प्रधानमन्त्री पुष्पकमल दाहालले लिएका छन् ।
प्रतिक्रिया दिनुहोस