
एजेन्सी। भारतीय धनाढ्य गौतम अडानीको व्यापारिक समूह अडानी ग्रुपको बारेमा हिन्डनबर्गको रिपोर्टलाई लिएर भारतको संसददेखि बजारसम्ममा ठुलो हलचल देखिएको छ। प्रधानमन्त्री मोदीको विशेष संरक्षणमा रहेको अडानी समूहमाथि लागेको आरोपको छानबिनको मागमा भारतको विपक्षी दल अडिग छ । जसको कारण हिजो बिहीबार तातेको भारतको संसद्मा आज शुक्रबार पनि हङ्गामा भएको छ।
जसका कारण लोकसभाको बैठक दिउँसो २ बजेसम्म र राज्यसभा २:३० बजेसम्मका लागि स्थगित गरिएको छ । प्रतिपक्षले संयुक्त संसदीय समिति (जेपीसी) वा सर्वोच्च अदालतको नेतृत्वमा समिति गठन गर्न माग गर्दै आएको छ ।
यसैबिच, अडानी इन्टरप्राइजेजको सेयर आज बिहान नै ३५ प्रतिशतले घटेको छ । सेयरको मूल्य एक हजार रुपैयाँ नजिक पुगेको छ । उनको कम्पनीको बारेमा हिन्डनबर्गको प्रतिवेदन आउनुअघि एउटा शेयरको मूल्य ३५ सय रुपैयाँ भारुको हाराहारीमा थियो । यसरी ९ दिनमा कम्पनीको सेयर ७० प्रतिशतले घटेको छ । अमेरिकाको स्टक एक्सचेन्ज डाउजोन्सले पनि अडानी इन्टरप्राइजेजलाई सस्टेनेबिलिटी इन्डेक्सबाट हटाएको छ ।
बङ्गलादेश सरकारले अडानी समूहसँग ऊर्जा क्षेत्रमा भएको सम्झौतामा संशोधन गर्न माग गरेको छ । बङ्गलादेश सरकारले बिजुलीको भाउ महँगो भएकाले घटाउनुपर्ने भनेको छ । अर्कोतर्फ काँग्रेसले आउँदो सोमबार त्यस विरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।
काँग्रेस सभापति मल्लिकार्जुन खर्गेले यस विषयमा विपक्षी दलको बैठक संसद् परिसरमा बोलाएका थिए। यसमा काँग्रेस, टीएमसी, आम आदमी पार्टी (आप), एसपी, डीएमके, जनता दल र वामपन्थी लगायत १३ दलले भाग लिएका थिए।
काँग्रेस महासचिव केसी वेणुगोपालले पार्टीका कार्यकर्ताहरूले फेब्रुअरी ६ मा देशभरका जिल्लाहरूमा रहेका एलआईसी र एसबीआई कार्यालयहरू अगाडि प्रदर्शन गर्ने बताए। प्रतिपक्षी नेताहरूले भने यो शेयर बजारको सबैभन्दा ठुलो घोटाला भएको बताएका छन् ।
बङ्गलादेशले सन् २०१७ मा अडानी पावर लिमिटेडसँग विद्युत् खरिद सम्झौतामा हस्ताक्षर गरेको थियो । बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले बिहीबार अडानी पावरलाई पत्र लेखेको छ । यस्तोमा विद्युत् खरिदको मूल्य परिवर्तन गर्न माग गरिएको छ । महँगो दरमा बिजुली पाउँदै आएको बीपीडीसीले जनाएको छ । बीपीडीसीले नोभेम्बर २०१७ मा अडानी पावरसँग २५ वर्षका लागि १४९६ मेगावाट विद्युत् आपूर्ति गर्ने सम्झौता गरेको थियो ।
एनएसईले छोटो अवधिको लागि अतिरिक्त निगरानी उपाय (एएसएम) सूचीमा अडानी समूहका तीन स्टकहरू समावेश गरेको छ। यसमा अडानी पोर्ट, अडानी इन्टरप्राइजेज र अबुन्जा सिमेन्ट पर्छन्।
हिन्डनबर्ग रिपोर्टपछि अडानी समूहको मार्केट क्याप ८.३८ लाख करोड भारुले घटेको छ। योसँगै विश्वका धनाढ्यहरूको रियल टाइम सूचीमा २१ औँ स्थानमा झरेका छन् । २७ फेब्रुअरी अघि अडानी विश्वको तेस्रो धनी व्यक्ति र एसियामा नम्बर एक थिए।
प्रतिक्रिया दिनुहोस