काठमाडौं । कुनै देशको सरकार प्रमुख नै गलत सूचनाका आधारमा बहकिन्छन् भने त्यो देशका जनताले अप्रत्याशित सङ्कटको सामना गर्नुपर्ने अवस्था धेरै टाढा हुँदैन । त्यसमाथि आर्थिक विषयमा नै कार्यकारी प्रमुख भ्रमित अवस्थामा बसे भने आफै कल्पना गरौँ, देश कुन स्थितिमा पुग्दो हो ।
प्रसङ्ग, व्यवसायीको बैंक विरोधी आन्दोलन र प्रधानमन्त्रीको पछिल्लो भाषणको हो । शुक्रबार एकैसाथ दुई वटा समाचार आए । एउटा पोखरामा व्यवसायीहरूले बैंकविरुद्ध आन्दोलन गर्न कमिटी गठन गरेको र अर्को प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकमा पुगेर बैङ्क र व्यवसायीबिच सम्बन्ध सुध्रिएको दाबी गरेको ।
नयाँ सरकार बन्ने बित्तिकै देशका ठुला ठुला व्यवसायीहरू माइतीघर मण्डलामा बैङ्क विरुद्धको आन्दोलनमा देखा परे । बैंकको चर्को ब्याजदर र चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन उनीहरूका विरोधमा मुख्य एजेन्डा थिए ।
नयाँ अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सम्झाए । चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन तुरुन्तै लागू गर्ने अडानबाट राष्ट्र बैंक पछि हट्दै केही संशोधन गर्यो । तर, व्यवसायीहरूले त्यसको खुलेर स्वागत गरेनन् ।
स्पष्ट छ, बैंक र व्यवसायीबिचको सम्बन्ध सङ्लिएको छैन । बैंक तथा वित्तीय संस्थाहरूसँग दुई खर्ब भन्दा बढी पैसा थुप्रिएको छ । तर, व्यवसायीहरू ऋण माग्न गएका छैनन । ब्याजदर घट्ने चर्चा छ । तर, घटिसकेको छैन ।
राष्ट्र बैंकका गभर्नरको आश्वासन र अर्थमन्त्री पौडेलको प्रतिबद्धताले ठुला व्यापारी त केही आश्वस्त बनेका छन् । तर, साना र मझौला व्यवसायीहरूको आक्रोश भने कम भएको छैन ।
यसै साता माइतीघर मण्डलामा ठुलो सङ्ख्यामा व्यवसायीहरू जम्मा भएर बैंक विरुद्ध आन्दोलन गरे । उनीहरूले मिति नै तोकेर आफ्नो माग पुरा गर्न अल्टिमेटम दिएका छन् । उचित ढङ्गले माग सम्बोधन नगरे आत्म दाहको समेत चेतावनी आएको छ ।
केही साता अघि बैंकको चर्को व्याज र व्यवसाय सङ्कटले प्रधानमन्त्रीकै सामुन्ने एक व्यवसायीले आत्मदाह गरेको घटना ताजै छ । देशव्यापीरुपमा यसैगरि आत्महत्या गर्ने व्यवसायीको लहर नै चलेको छ ।
तर, प्रधानमन्त्री भन्दैछन्, बैंक र व्यवासयीबीचको सम्बन्ध सुध्रियो । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५, चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘बैंक र व्यवसायीबिच सहकार्यको स्थिति सिर्जना भएको छ । अर्थतन्त्रमा सुधार आउने आधारहरू देखिएका छन् । अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ ।’
उनले विकासको गतिमा देश अगाडी बढ्ने बताइरहँदा स्वीकार गरेका छन्, ‘नेपालको अर्थतन्त्रमा केही गम्भीर समस्या छ ।’ यसरी मुलुकको अर्थतन्त्र गम्भीर छ भन्दा भन्दै उनले भनेझैँ अठोटले मात्र कसरी अर्थतन्त्र सुधार्ने हुन् त्यो त हेर्न बाँकी नै छ । तर, पनि अहिले नै देखिएको समस्या भने उनले व्यवसायीहरू खास कस्तो पिडामा छन् भन्ने बुझ्न नसक्नु नै हो ।
यदि प्रधानमन्त्रीले बैंक विरुद्धको आन्दोलनमा व्यवसायीहरू रहेको खबर सुनेका भए पक्कै पनि बैंक र व्यवसायीबिच सम्बन्ध सुध्रियो भन्ने थिएनन् । अगुवा पछुवा गाडी र साइरन लिएर काठमाडौँका सडकमा हुइँकिँदै गर्दा सिंहदरबार सँगै जोडिएको माइतीघर मण्डलामा कस्ता ब्यानर र प्लेकार्ड बोकेर उभिरहेका छन् भन्ने बुझ्न गाडीबाटै चियाएका भए पुग्ने थियो ।
तर, विडम्बना नै भन्नुपर्छ उनी केही हेरिरहेका छैनन । हजुर, अर्थतन्त्र सुध्रिँदै छ भनेर तथ्याङ्क तोडमोड गरेर पेस गरिएका मिथ्यांक हेर्दै छन् । अनि त्यसैका आधारमा भन्दै छन्, बैंक र व्यापारीको सम्बन्ध राम्रो छ ।
प्रतिक्रिया दिनुहोस