काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले पर्साको भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
भूमि सुधार तथा मालपोत कार्यालयका तत्कालीन समयका र हालका समेत कार्यालय प्रमुख कमोद तिवारी, नासु, जग्गाधनीसमेत ६ जनाले सरकारी कागजात नोक्सान गर्ने र गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आयोगको आरोप रहेको छ । उनीहरुविरुद्ध आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको छ ।
पर्साको साविक वेल्वा गाविस वडा नं. ८ कि.नं. २७० क्षे.फ. विगा ०–१–५–० जग्गाधनी युवा स्पोर्ट्स क्लब नामक संस्थाको जग्गा व्यक्तिको नाममा गैरकानूनी तरिकाले श्रेस्ता कायम गरेको भन्ने उजुरी आयोगमा परेको थियो । उक्त उजुरी सम्बन्धमा अनुसन्धान हुँदा युवा स्पोर्टस क्लबको नाममा रहेको जग्गा शेष सफि अहमदको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम गर्ने क्रममा फिल्ड प्रतिवेदन, निर्णयको लागि टिप्पणीसमेत पेस गरी निर्णय गरेकोले परिवर्तित लिखतबाट व्यक्तिको नाममा ल्याइएको पाइएको आयोगको भनाई छ ।
आयोगका अनुसार क्लबको नामको जग्गाधनी दर्ता श्रेष्ताको विवरण रहेको मोठ पाना च्यातिएको अवस्थाका कारण मोठ श्रेष्तामा नरहेको देखिँदा व्यक्ति विशेषको नाममा गलत लिखत तयार गरी श्रेस्ता कायम गर्ने गरेको पाइएको छ । सरकारी कागजात नोक्सान गर्ने भ्रष्टाचारजन्य कसूर गरिएको पायएको छ ।
यस काममा संलग्न रहेकाहरुमा कार्यालय प्रमुख कमोद तिवारी, तत्कालीन नायब सुब्बा शम्भु साह रौनियार, तत्कालीन खरिदार शिवप्रकाश साह तेली, तत्कालीन खरिदार रिन्ता कुमारी, शेष सफि अहमद र शेख सजिद एकबाल रहेको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस