aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

भोलिदेखि सुरु हुने कागेश्वरी महामेलाको तयारी पूरा, डेढ लाख पर्यटक भित्र्याउने घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ भदौ २०७६
भोलिदेखि सुरु हुने कागेश्वरी महामेलाको तयारी पूरा, डेढ लाख पर्यटक भित्र्याउने घोषणा

काठमाडौं  । कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदीमा अवस्थित् कागेश्वरी महादेव मन्दिरमा भदौ १९ गतेदेखि भदौ २१ गतेसम्म महामेला लाग्ने भएको छ ।

उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएकोबारे कागेश्वरी महामेला व्यवस्थापन समितिले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । 

कागेश्वरी नगरपालिकाका नगर प्रमुख एवम् महामेला व्यवस्थापन समितिका संरक्षक कृष्णहरि थापाले महामेला भव्य र सभ्य हुने बताउँदै देशभित्र र बाहिरका सबै भक्तजनहरुलाई निम्तो दिए । उनले मेलामा पर्यटन वर्ष–२०२० लाई लक्षित गर्दै एक लाख पचास हजार पर्यटक भित्र्याउने उद्धेश्य राखेको बताए । 

नगरपालिकाको नामनै कागेश्वरी महादेव मन्दिरको नामबाट राखिएको हुँदा उक्त मन्दिरमा लाग्ने मेलालाई नगरपालिकाले बिशेष महत्व दिएको छ । नगरपालिकाले तीन दिनसम्म बिशेष कार्यक्रम गर्ने कार्यतालिका बनाएको छ । 

धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्धेश्यले नगरपालिकाले २२७ किलो धातुको कागको मूर्ती स्थापना गरी कागेश्वरी महादेब मन्दिरको पहिचान बनाएको पनि थापाले जनाए । भदौ १९ गते कागेश्वरी मेलाको उद्घाट्न गरी साहित्यिक कार्यक्रम सञ्चालन गर्ने, भदौ २० गते धार्मिक प्रबचन र महात्म्य संचालन हुने र भदौ २१ गते मन्दिरको सरसफाई गर्ने कार्यक्रम रहेको थापाले बताए । 

उनले मन्दिरको डिजाईन पुरातात्विक विभागबाट गराएको र ६ करोडको बजेट छुट्याएको साथै मन्दिर वरपर पर्यटकलाई लक्षित गरी भ्यू–टावर, पिकनिक स्पट बनाउने बताए । उनले मन्दिरमा जानका लागि सुन्दरीजल, गागलफेदी, कागेश्वरी नगरपालिका हुँदै छोटो बाटोको प्रयोग गरी जान सकिने पनि जानकारी दिए । 

कार्यक्रममा कागेश्वरी–मनोहरा नगरपालिका वडा नम्बर एकका अध्यक्ष एवम् महामेला व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द गजुरेलले महामेलाको सम्पूर्ण तयारी भएको र कार्यक्रममा सानो ठाउँको बाबजुतपनि भक्तजनहरुलगायत सम्पूर्ण पत्रकार मित्रहरुलाई मेलामा उपस्थितिका लागि आमन्त्रण गरेका छन् । कार्यक्रममा सानो क्षेत्रलाई जतिसक्दो व्यवस्थित् गर्ने र आगामी वर्षमा मेलालाई मध्येनजर गर्दै ठाउँ व्यवस्थापन गर्ने पनि विश्वास दिलाए । 

मेलामा नगरपालिकाभित्र सार्वजानिक विदा दिने परम्परालाई यसपालिपनि निरन्तरता दिईएको आयोजकको भनाई छ ।  

प्रतिक्रिया दिनुहोस