aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

प्रचण्ड विरुद्ध बालकोटमा यसरी पाक्दैछ खिचडी, ओली र लिङ्देनलाई भेटेपछि लामिछाने उत्साहित

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शनिबार, २१ माघ २०७९
प्रचण्ड विरुद्ध बालकोटमा यसरी पाक्दैछ खिचडी, ओली र लिङ्देनलाई भेटेपछि लामिछाने उत्साहित

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा शुक्रबार साँझ उनीहरूबीच दुई घन्टा बढी छलफल भएको हो ।

गृह मन्त्रालय पाउनुपर्ने भन्दै रास्वपाले सरकार छाड्ने चेतावनी दिइरहेका बेला उनीहरूबीच छलफल भएको हो । स्रोतका अनुसार गठबन्धनभित्र कसरी बलियो भएर जाने भन्ने विषयमा उनीहरूबीच छलफल भएको छ । एमाले अध्यक्ष ओलीले भन्दासमेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय छाड्न तयार नभएपछि उनीहरू छलफलमा जुटेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले लामिछानेको मुद्दा टुंगो नलागेसम्म धैर्यता गर्नुपर्ने र राष्ट्रपति निर्वाचनका विषयमा पनि राष्ट्रिय सहमति गर्नुपर्ने बताउँदै आएका छन् । जसका कारण ओली र लामिछाने असन्तुष्ट छन् । दुई दल निकट रहेका राप्रपा अध्यक्ष लिङ्देनसँग यिनै विषयमा छलफल गर्न बालकोट बोलाइएको स्रोतको दाबी छ । 

यसबीचमा गृह मन्त्रालयका लागि लामिछाने आफैंले पनि पटक–पटक प्रधानमन्त्री प्रचण्डलाई भेटेर दबाब दिएका छन् । उनले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनीसमेत दिएका छन् । बिहीबार रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्रीलाई दुई दिनको समय दिएको छ । उक्त समय भोलि सकिँदैछ । 

प्रधानमन्त्री प्रचण्डले पार्टी बैठकमा पनि तत्काल रवि लामिछानेलाई गृह मन्त्रालय दिन नसकिने ब्रिफिङ गरेका छन् । मुद्दा टुंगो नलागेसम्म रास्वपाले धैर्यता राख्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । 

यता उच्च राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका ओलीले गृह मन्त्रालय रास्वपालाई दिन दबाब दिएका छन् । पूर्वसहमतिअनुसार गृह रास्वपाकै भागमा परेको भन्दै उनले गृह मन्त्रालय रास्वपालाई दिनुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस