aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

यी ठाउँका सहकारी संकटमा, बचतकर्ताले आफ्नो रकम फिर्ता पाएनन्

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, २१ माघ २०७९
यी ठाउँका सहकारी संकटमा, बचतकर्ताले आफ्नो रकम फिर्ता पाएनन्

काठमाडौं । रुपन्देहीका केही सहकारी संस्था सङ्कटमा रहेको पाइएको छ । बुटवलमा रहेको शिवशिखर, सुप्रिम र आगन्तुक सहकारीका बचतकर्ताले रकम निकाल्न नपाएको गुनासो सार्वजनिक भएपछि सहकारीहरू सङ्कटमा रहेको पाइएको हो । 

लुम्बिनी प्रदेश सहकारी विकास बोर्डको उपाध्याक्ष टीकाराम पोखरेलले प्रदेशमा सञ्चालनमा रहेका केही सहकारी संस्थामा समस्या देखिएकाले सरकारले कानुुनी प्रक्रिया अगाडि बढाएको बताए । 

रिपोर्टर्स क्लब लुम्बिनीले शुक्रबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा पोखरेलले सहकारीको मर्मभन्दा बाहिर बचतकर्ताको रकममा सञ्चालकले चलखेल गर्दा यस्तो समस्या देखिएको बताए । 

उनले बर्दियाको नमस्ते बहुउद्देश्यीय सहकारी संस्थाले आफूखुसी लगानी गर्दा समस्या आएको उदाहरण दिँदै सहकारीमा देखिएको समस्यालाई तीन तहका सरकारको सक्रियताले मात्र समाधान गर्न सकिने बताए । कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी रजिस्ट्रार भीमप्रसाद तिवारीले सहकारीमा सुशासन नभएको बताउँदै रुपन्देहीका ५० भन्दा धेरै सहकारीमा पुगेर सुधार गर्न निर्देशन दिएको बताए । 

सहकारी संस्थाले सहकारीको  मूल्य र मान्यता पालना नगरेको, गलत लेखापरीक्षण गरी संस्था चलाएको जस्ता कारणले पछिल्लो समय सहकारीमा समस्या देखिएको तिवारीले बताए । 

प्रदेश बचत तथा ऋण सहकारी सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपालले समुदायमा आधारित सहकारी संस्थामा समस्या नभएको दाबी गरे । उनले २०६४ सालमा बुटवलमा रहेको स्वर्णिम सहकारीमा पनि आर्थिक अपारदर्शिताका कारण यस्तै समस्या आएको बताउँदै त्यसको अनुगमन गरी नागरिकको पैसा फिर्ता गर्न सफल भएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस