aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

लघुवित्तले दियो यस्तो यातना, किस्ता तिर्न खोज्दा काश्मीरमा बिक्री

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, २१ माघ २०७९
लघुवित्तले दियो यस्तो यातना, किस्ता तिर्न खोज्दा काश्मीरमा बिक्री

काठमाडौं । लघुवित्त संस्थाहरूले सदस्यलाई यातना दिन थालेको भन्दै पीडितहरू संस्थागत हुन थालेका छन् । संस्थाले असुल्ने चर्को ब्याजदर र सहुलियतका नाममा विपन्नलाई झन् विपन्न बनाउने योजनाविरुद्ध समूहकै सदस्यले आवाज उठाउन थालेका हुन् । 

कोरोनाले थलिएको बजारमा सानो लगानीका साथ व्यवसाय सञ्चालन गर्दै आएका सदस्यलाई लघुवित्त संस्थाले कठिन समयमा पनि रकम असुल्ने नाममा प्रताडित गर्ने गरेको गुनासो छ । बचत र ऋण असुलीका लागी संस्थाका कर्मचारीले घरायसी सामानसमेत जफत गर्ने गरेको भन्दै सदस्यहरू यतिबेला दौडधुप गरिरहेका छन् । संस्थाले अनावश्यक दबाब दिएको भन्दै केही सदस्य प्रशासनको सम्पर्कमा समेत पुगेका छन् । 

गहनासमेत लिन्छन्
विराटनगर महानगरपालिका–८, हरिहर चोकमा मासिक चार हजार तिर्ने गरी सटर भाडामा लिएर चिया पसल सञ्चालन गर्दै आएकी रेखा राजवंशीको पसलमा बिहान ६ बजे नै लघुवित्त समूहका सदस्यले घेरा हाले । सानो टिनको सटरमा भक्का, आलुचप, कचौरी र चिया नास्ता बिक्री गरेर दुई जना छोरीलाई नजिकैको सामुदायिक विद्यालयमा पढाउँदै गुजारा चलाएकी उनीसँग समूहका सदस्यले मासिक किस्ता नतिरेको भन्दै विवाद गर्न सुरु गरे । समयमा किस्ता नबुझाएकोले लघुवित्तले अरू सदस्यलाई अप्ठ्यारो पारेको भन्दै जसरी भए पनि पैसा निकाल्न दबाब दिए । 

धेरै समयको भनाभनपछि उपाय निकालियो जे छ त्यही लैजाने । रेखा दगुर्दै गएर एउटा पुरानो थैली समुहका सदस्यलाई जिम्मा लगाइन् । थैली जिम्मा लगाउँदै गर्दा उनका आँखा रसाएका थिए । जेठी छोरी अमृता राजवंशीका विवाहका लागी भनेर जोडेको १० तोला चाँदीका गहनाको पोको जिम्मा लगाएको उनले बताइन्। उनले भनिन्, “केहीगरी पनि मैले पैसा निकाल्न सकिन, छोरीको विवाहका लागि राखेको गहना लिएर जानुहोस् । बेचेर आएको पैसाले किस्ता तिरिदिनु ।” 

लघुवित्त संस्थामा लागेर राजवंशीले ऋण लिन थालेको आठ वर्ष भयो । अगाडिको समयमा नियमित किस्ता बुझाउँदै आएको तर पछिल्ला दिनमा भने किस्ता बुझाउन नसकेको उनले बताइन् । चिया पसलबाट पहिले मुस्किलले दैनिक गुजारा चलेको तर कोरोनाको समयपछि त्यो पनि हुन छाडेकोले समस्या भएको छ । संस्थाले असुल्ने चर्को ब्याजदर र ऋण असुलीका लागि दिने अनावश्यक दबाबका कारण घरायसी कलहसमेत बढेको उनको गुनासो छ । 

प्रतिक्रिया दिनुहोस