काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको डेटलाइन आज सकिएको छ । बिहीबार पार्टीको बैठक राखि लामिछानेले दिएको दुई दिन आज सकिएको हो ।
नागरिकता जस्तो गम्भीर राष्ट्रियताको विवादमा मुछिएपछि सर्वोच्च अदालतको फैसला अनुसार सबै पद एकै पटक गुमाएका लामिछानेले आफूलाई संवैधानिक व्यवस्था बमोजिम गृहमन्त्री नबनाए पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइ रहेका छन् । नेकपा (एमाले) पनि उनलाई गृहमन्त्री बनाउनु पर्नेमा सकारात्मक मात्र छैन त्यस पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई निरन्तर दबाब नै दिइरहेका छन् ।
रास्वपाले आफ्नो अडान र दिएको अल्टिमेटम सकिएसँगै आइतबार बैठक बसी निर्णय गर्ने भएको छ । आइतबार उसले गर्ने निर्णयलाई सबैले चासोका साथ हेरेका छन् ।
यसै क्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले उक्त पार्टीले सरकार नछोड्ने बताएका छन् । शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकपछि उनले रास्वपा सँग कुरा गरेर समस्या समाधान गर्ने दाबी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस