काठमाडौं । काठमाडौंको ठमेलमा शनिबार गरिएको चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बागमती प्रदेश ०२-०२६ प ८९ ६० नम्बरको मोटरसाइकल चालक नुवाकोटको विदुर नगरपालिका ३ रविन्द्र आचार्य , रा ७ प ९३१ नम्बरको स्कुटर चालक सल्यानको शारदा नगरपालिका १ का इसान खड्का र बागमती प्रदेश ०२-०१६ प ०७ ७८ नम्बरको मोटरसाइकल चालक इलामको इलाम नगरपालिका २ का विवेक प्रधानलाई लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त लैनचौर सोह्रखुट्टे पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेको संयुक्त टोलिले २० ओटा सवारी साधन चेकजाँच गरेको थियो ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरुलाई कार्वाही गर्दै आएको ट्राफिक प्रहरीले लागुऔषध समेत सेवन गरी सवारी साधन चलाइएको पाइएपछी प्राविधिक टोली सहित टि।एच।सि। किटको प्रयोग गरी गत साउन ९ गतेबाट लागुऔषध चेकजाँच अभियान सुरु गरेको हो ।
प्रतिक्रिया दिनुहोस