काठमाडौं । क्यान्सर शब्द सुन्नेबित्तिकै धेरैजना आत्तिने गर्छन् । क्यान्सर हुनु भनेको जीवन सकिनु हैन, त्यसको डटेर सामना गर्ने हो । क्यान्सर जित्न सकिन्छ। तर, क्यान्सर लाग्न नदिनु चाहिँ उत्तम उपाय हो । विश्वमा आक्रामक ढंगले बढिरहेको नसर्ने रोगमध्ये प्रमुख रोग हो, क्यान्सर । विश्वमा ६ जनाको मृत्यु हुँदा एकजना क्यान्सरका कारण मृत्यु हुने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । बिरामी थपिने क्रम बढ्दो छ ।
क्षयरोग, एचआईभी एड्स र औलोले भन्दा बढी क्यान्सरबाट मृत्यु भएको देखिन्छ । नेपालमै ६० देखि ७० हजारभन्दा बढी क्यान्सर रोगी रहेको अनुमान छ । त्यसैले स्वास्थ्यप्रति सचेत र स्वस्थ्य जीवनशैली अपनाउन जरुरी छ । क्यान्सरको सम्भावना बढाउने ९० प्रतिशत कारण खानपिन, रहनसहन, वातावरण, जीवनशैली आदि हो। दस प्रतिशतमात्र शरीरको आन्तरिक कारणले हुने गर्छ । उमेर जति बढ्यो, उति नै मात्रामा क्यान्सर रोगको सम्भावना पनि बढ्दै जान्छ । त्यसैले बढ्दो उमेरसँग स्वास्थ्यको विशेष ख्याल राख्न जरुरी छ ।
त्यसका लागि स्वस्थ्य खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्छ। साथै स्वच्छ वातावरण अर्को महत्वपूर्ण पक्ष हो । विषादी मिसिएको खानपिनका कारण धेरै रोग थपिएका छन् । त्यसैले प्रांगारिक उत्पादनमा जोड दिनुपर्छ । साथै स्वस्थ्य रहन विभिन्न प्रकारका व्यायामसँगै साइक्लिङ गर्न सकिन्छ । शरीर स्वास्थ्य राख्ने एक अचुक उपाय साइक्लिङ पनि हो । विश्व स्वास्थ्य संगठनका अनुसार दिनहुँ ३० मिनेटको व्यायामले क्यान्सरबाट बचाउन सक्छ। त्यसका लागि साइक्लिङ उपयुक्त हुनसक्छ ।
प्रतिक्रिया दिनुहोस