aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

हिमालय शमशेर जो 'पहिलो' को पर्याय थिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ माघ २०७९
हिमालय शमशेर जो 'पहिलो' को पर्याय थिए

काठमाडौँ। हिमालय शमशेर जबराको सबैले चिन्ने परिचय नेपाल राष्ट्र बैंकको प्रथम गभर्नरको नाम के हो ? हामी मध्ये धेरैजसोले स्कुले जीवन देखि नै हाजिरी जवाफ प्रतियोगितामा सोधिने उल्लेखित प्रश्न को दिने जवाफ हो, हिमालय शमशेर जबरा । तिनै जबरा आइतबार अस्ताए, भौतिक रूपमा । तर, उनको 'पहिलो' बनेका अरुपनि धेरै क्षेत्र छन् जसले उनलाई सधैँ स्मरणमा राखिरहने छ।  

उनको अर्को परिचय हो, नेपालको पहिलो अर्थ सचिव। प्रशासन क्षेत्रमा पनि यसरी पहिलोको अर्कै परिचय बनाएका उनी  निमोनियाबाट पीडित थिए। जसको कारण ९५ वर्षको उमेरमा उनले यो लोक छोडे। 

हरेक वर्ष सरकारले बजेट सार्वजनिक गर्ने दिन सबैले स्मरण र चर्चा गर्छन् पहिलो बजेटको।  हो , त्यो पहिलो बजेट पनि उनी हिमालय शमशेरले तयार गरेका थिए २००८ सालमा। जबरा अर्थ सचिव भएपछि पहिलो पटक बजेट ल्याइएको थियो । तत्कालीन अर्थमन्त्री सुवर्ण समसेर राणाले  ५ करोड २५ लाख २९ हजार रुपैयाँको सो बजेट प्रस्तुत गरेका थिए ।

तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरलाई अर्थ मन्त्रालयमा स्नातकोत्तर उत्तीर्ण गरेको व्यक्ति चाहिएको थियो । त्यसैले उनले हिमालय शमशेरलाई छाने अर्थ सचिवको रूपमा जो अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गर्ने नेपालमा उपलब्ध जम्मा तीन जना मध्ये एक थिए। अर्थशास्त्रमा जबराका अलावा लीलाप्रसाद लोहनी र परीक्षित नरसिंह राणाले डिग्री लिएका थिए। उनले पहिलो अर्थ सचिवका रूपमा २०१२ सालसम्म काम गरेका थिए ।

विसं २००८ मा तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा अर्थ सचिव जबरा पनि सँगै गए । त्यहाँ उनले नै सुझाव दिए अनुसार कोइरालाले भारतबाट नेपालमा आयत हुने वस्तुमा दोहोरो कार लाग्ने गरेको भन्दै त्यो हटाउन आग्रह गरे।  फलतः ४ वर्ष पछि त्यो कार्यान्वयनमा आउँदा नेपालले वार्षिक तीन करोड रुपैयाँ प्राप्त गर्न थाल्यो ।

तत्कालीन राजा महेन्द्र शाहले नेपाल राष्ट्र बैंक स्थापना गर्ने तयारी गर्दा सो केन्द्रीय बैंकको ऐन मस्यौदा तयार गर्न र गभर्नरको रूपमा त्यसको नेतृत्व गर्न उनी समक्ष प्रस्ताव आयो । उनले सो काम कुशलतापूर्वक गर्दै राष्ट्र बैंक स्थापना गरे जसको पहिलो गभर्नरको रूपमा उनी चिर स्मरणीय रहने छन्। 

प्रतिक्रिया दिनुहोस