aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

स्टेराइल एरियामा पसलः विमानस्थलमा सुरक्षा खतरा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ भदौ २०७६
स्टेराइल एरियामा पसलः विमानस्थलमा सुरक्षा खतरा

काठमाडौं । साढे दुई बर्षअघि ४० तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट पक्राउ परेका उपसचिव किशोर कुमार खत्रीलाई नागरिक उड्डयन प्राधिकरणले एयरपोर्टबाट प्राधिकरणमै फिर्ता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उनलाई तत्काल एयरपोर्टमा गरिएको सरुवा बदर गर्न निर्देशन दिएका थिए । मन्त्री भट्टराईको निर्देशनपछि उनको सरुवा बदर भएको छ । पर्यटन मन्त्री भट्टराई विमानस्थल सुधारमा लागेका छन् । उनले बुटिक विमानस्थल बनाउने कुरालाई प्राथमिकता दिएका छन् । 

विमानस्थलको सुरक्षा ब्यवस्थालाई ध्यानमा राखी  स्टेराइल एरियाको टी एण्ड कफी पसल हटाउन मन्त्री भट्टराईले पहल गर्नुपर्ने आवाज पनि उठेको छ । भट्टराईले स्टेराइल एरियाको पसल नहटाए विमानस्थलबाट जे जस्ता बस्तु पनि बाहिरिन र भित्रिन सक्छन् । बोर्डिङ पास लिइसकेपछि पुनः चेकिङ नहुने भएकाले उक्त पसलबाट के–के धन्दा हुन्छ भन्ने कुरामा गम्भीर हुनुपर्ने विमानस्थल सुरक्षा स्रोत बताउँछ । 

अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालबाट विभिन्न देशमा जाने यात्रुहरुले बोर्डिङ पास लिइसकेपछि प्रतिक्षालयमा बस्ने गर्दछन् । जुन प्रतिक्षालयमा पसल राख्नु सुरक्षाका दृष्टिले खतरा मानिन्छ । तर, पूर्व पर्यटन मन्त्री शरदसिंह भण्डारीले सुवास श्रेष्ठको सोनेगा सर्भिसलाई स्टेराइल एरियामा पसल राख्न अनुमति दिए । त्यतिबेला गृहमन्त्रालय र प्रहरीले विमानस्थलको सुरक्षा ब्यवस्थामा खलल पुग्नेगरी स्टेराइल एरियामा पसल राख्न दिनु नहुने भनी नोट अफ डिसेन्ट लेखेका थिए । तर, शरदसिंह भण्डारीले निर्जला राउतलाई साझेदार राखी स्टेराइल एरियामा पसल खोल्न अनुमति दिएका थिए ।

एयरपोर्टमा सबै ठाउँको पास लिएका सुवास श्रेष्ठले तोकिएभन्दा बढी अमेरिकी डलर लिएर विदेश जान खोज्दा केही महिनाअघि पक्राउ परेका थिए । उनी पक्राउपछि स्टेराइल एरियाको पसल बन्द भएको थियो । तर उनले सर्वोच्च अदालतमा रिट हाली अन्तरिम आदेश लिएर पसल खोलेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई दबाब दिई श्रेष्ठ स्टेराइल एरियाको पसल पुनः खोल्न सफल भएका छन् । क्षेत्रीले पनि श्रेष्ठसँग ठूलो आर्थिक लाभ लिएर पसल खोल्न अनुमति दिलाएको स्रोतको दावी छ । मन्त्री भट्टराईले विमानस्थल सुधारका लागि शुरुमै उक्त पसल बन्द गर्नु पर्ने विमानस्थलकै कर्मचारीहरु बताउँछन् । युनाइटेड पोष्टबाट 

प्रतिक्रिया दिनुहोस