aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ माघ २०७९
राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का सांसद उर्मिला अर्याल निर्वाचित भएकी छिन् । सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदका लागि एक जनाको मात्रै उम्मेदवारी परेको जानकारी गराउँदै अर्याल निर्विरोध निर्वाचित भएको सभालाई जानकारी गराएका हुन् । 

सभाध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई सफल कार्यकालको कामना गर्दै बधाईसमेत दिए । त्यसअघि नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले राष्ट्रियसभाका उपाध्यक्षका रुपमा अर्याल योग्य व्यक्तित्वका रुपमा रहेको बताएका थिए । उपाध्यक्षका लागि अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दै उनले नेपालको कम्युनिस्ट आन्दोलनको एक सिद्धहस्त व्यक्तित्वलाई उपाध्यक्षका रुपमा पाउन लागेको बताए । 

उनले भने, “लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा लाग्नुभएका अर्याल  स्थापित महिला र सामाजिक क्षेत्रको जिम्मेवारीमा रहेर काम गर्नुभएको सफल व्यक्तित्व हुनुहुन्छ ।”

प्रस्तावका पक्षमा आफ्नो धारणा राख्दै सांसद खिमलाल देवकोटाले महिला नेत्री एवं राष्ट्रियसभाका सदस्यका रुपमा रहनुभएका सांसद अर्यालको भूमिका नेपालको महिला आन्दोलनमा प्रशंसनीय रहेको बताए । उनले महिलालाई राज्यका अन्य निकायको प्रमुखमा निर्वाचित गर्नुपर्ने धारणा राखे ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य रहेकी अर्याल पूर्वस्थानीय विकास मन्त्रीको जिम्मेवारी सम्हाली सकेकी छिन् । विसं २०१३ असोज २० गते साविक जगरनाथपुर गाउँपालिका–५ मसिहानी, पर्सामा जन्मिएकी अर्याल हालको ठेगाना वीरगञ्ज महानगरपालिका–२३, गण्डक चोक वीरगञ्ज हो । तत्कालीन नेकपाको चौथो महाधिवेशनबाट वामपन्थी आन्दोलनमा लागेकी अर्याल गत वर्ष भएको राष्ट्रियसभाको निर्वाचनमा मधेस प्रदेशबाट निर्वाचित भएकी हुन् । 

समाजशास्त्रमा स्तातकोत्तर गरेकी अर्याल विद्यावारिधिको शोधार्थी हुन् । अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालेकी अर्यालले महिला विकास अधिकृतका रुपमा पनि सेवा गरेकी छिन् । तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस