aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

फेरि सलबलायो ‘रअ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ भदौ २०७६
फेरि सलबलायो ‘रअ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण संयुक्त राष्ट्रसंघको महासभा बैठकमा सहभगी नहुने भएका छन् । ओली आफू नजाने भएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई महासभामा जान निर्देशन दिएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा जाने भएपछि ज्ञवालीले सार्क मुलुकहरूका परराष्ट्रमन्त्रीहरूको बैठक राख्ने तयारी गरेका छन् । परराष्ट्रमन्त्रीहरूको बैठकका लागि मन्त्री ज्ञवाली आफूले सार्क मुलुकका परराष्ट्र मन्त्रीहरूलाई भेटेर निम्तो पनि दिएका छन् ।

मन्त्री ज्ञवालीले जति उत्साहका साथ सार्कका परराष्ट «मन्त्रीहरूको बैठक राख्ने तयारी गरेका छन्, भारत खासै उत्साहित छैन । पाकिस्तानले नेपालको यो तयारीलाई साथ दिने संकेत दिएको छ । तर, भारतले नेपालको यो योजनालाई तत्काल साथ दिने छाँटकाँट छैन । पाकिस्तान र भारतकै कारण सार्क सम्मेलन हुन सकेको छैन । झन् जम्मु–कश्मीर प्रकरणपछि त पाकिस्तान र भारत एउटै टेबुलमा बस्ने सम्भावना निकै कठिन रहेको परराष्ट्र मामिलाका जानकारहरूले बताएका छन् ।

यता, भारतले नेपालबाट जम्मु–कश्मीर घटनामा समर्थन खोजी रहेको छ । समर्थन खोज्न भारतीय बिदेशमन्त्री एस. जयशंकरले दुई दिने नेपाल भ्रमण गरिसकेका छन् । ओलीसँगको गोप्य भेटमा एस. जयशंकरले जम्मु–कश्मीर प्रकरणमा नेपालले भारतलाई साथ दिनुपर्ने प्रस्ताव राखेको स्रोतले जनाएको छ । जम्मु–कश्मीरका विषयमा स्पष्ट धारणा दिन नसकेको नेपालले संयुक्त राष्ट्रसंघको महासभाको बैठकका क्रममा सार्कका विदेशमन्त्रीहरूको बैठक बस्ने कुरा आशंकाका रुपमा हेरिएको छ ।

भारतले यथाअवस्थामा पाकिस्तानसहितको बैठकमा सहभागिता जनाउनेमा आशंका जनाएको छ । पाकिस्तानले पनि जम्मु–कश्मीर घटनामा नेपालको साथ खोजेको छ । त्यति मात्रै होइन चीनले पनि नेपाललाई अप्रत्यक्ष रुपमा जम्मु–कश्मीर घटनामा दवाव दिएको चर्चा भइरहेको छ । उपचारपछि स्वदेश फर्किन लागेका प्रधानमन्त्री ओलीले जम्मु–कश्मीर प्रकरणमा एउटा निर्णय लिनुपर्ने हुन्छ । संयुक्त राष्ट्रसंघको महासभा बैठकमा जानु अगाडि परराष्ट्रमन्त्री ज्ञवालीले पनि आफूलाई यो विषयमा प्रष्ट पानुपर्ने हुन्छ ।

भारतको गुप्तचर निकाय ‘रअ’ले पनि दक्षिण एसियामा हुने राजनीतिक गतिविधिहरूलाई नजिकबाट नियाली रहेको छ । ‘रअ’ले नेपालमा बढ्दै गएको चीनको राजनीतिक र आर्थिक प्रभावलाई घटाउन चाहेको छ । चीनका हरेक गतिविधिको सूचनाहरू ‘रअ’ले दिल्ली पु¥याउँदै आएको स्रोतको भनाइ छ । ‘रअ’ले पछिल्लो समय नेपालको आन्तरिक राजनीतिक र अन्य मामिलामा भन्दा पनि आफ्नो देशको सुरक्षालाई केन्द्रमा राखेर गतिविधि गर्दै आएको छ ।

‘रअ’का एकजना पूर्व निर्देशक अमर भुषणले आफ्नो पुस्तक ‘इन्साइड नेपाल’मा नेपाललाई विरोधी तत्वबाट विचलित हुन नदिन गुप्तचरको गतिविधिबारे उल्लेख गरेसँग नेपालमा फेरि तरंग उत्पन्न भएको छ । पुस्तक अनुसार ‘रअ’को मिसन विभिन्न पार्टीबीच एकता कायम गर्न मात्र नभई नेपालको गोप्य अपरेसनका लागि सबल बनाउनु पनि थियो । भुषणले आफ्नो पुस्तकमा रअका पूर्वी ब्युरो प्रमुखका रुपमा जीवनाथन नामका व्यक्तिको उल्लेख गरेका छन् । यस ब्युरोले सन् १९८९–९० ताका तत्कालीन राजा वीरेन्द्रलाई हटाउनका लागि विशेष गुप्तचर तैनाथ गरेको थियो ।

राजीव गान्धीको सरकारले नेपाली जनताको आन्दोलनका पक्ष लिने निर्णय गरेको थियो । पटक–पटक राजा वीरेन्द्रसँग कूटनीतिक वार्ताका लागि दबाब दिँदा पनि सफल भएको थिएन । त्यसपछि नाकाबन्दी लगाई राजालाई प्रजातन्त्र पुनस्र्थापना गर्न दवाब दिएको थियो ।

नेपालले त्यस बेला चीनसँग सहयोग माग्यो । भारत भने आफ्नो छिमेकमा चिनियाँ प्रभाव हेर्न चाहँदैनथ्यो । ‘रअ’का प्रमुख एके वर्मालाई यो कार्य सुम्पियो, जसले नेपाल अपरेसनका लागि आफ्नो सर्वोत्कृष्ट गुप्तचर ‘जीवनाथन’लाई जिम्मेवारी दिए । ‘रअ’को पूर्वी ब्यूरो कहिले पनि प्राथमिकतामा थिएन, त्यसैले यो कार्य जीवनाथनका लागि गाह्रो थियो । कूटनीतिज्ञहरूले अधुरो छाडेको कार्य पूरा गर्ने प्रतिबद्धता उनले जनाए ।


पुस्तकका अनुसार ‘रअ’ले माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सबै राजनीतिक दलसँग मिलेर राजसंस्थाविरुद्ध लाग्नका लागि मनाउन प्रशस्तै समय खर्च गरेको थियो । निकै महिनासम्म र माओवादीको खतरनाक स्थानमा पटकपटक भेटवार्ता गरी प्रचण्डलाई यो कुरामा सहमत गराइयो । प्रचण्डले ती वार्ताका दौरान पटक–पटक जीवनाथनलाई प्रश्न गर्थे, ‘हामी राजसंस्थामा छौं वा प्रजातन्त्रमा भन्नेबारे तिमीलाई के चासो ?’ अपरेसनपछि धेरै नेपाली राजनीतिक नेताले जीवनाथनबारे सोधपुछ गरे, तर उनी बिस्तारै हराए । उनले गुप्तचरीको दुनियाँमा एउटा सन्देश छाडेका थिए– मान कि मेरो अस्तित्व नै छैन ।

यस्तो अवस्थामा भारतले फेरि नेपाललाई हिन्दूराष्ट्र बनाउन खोजेको चर्चा छ । भारतले नेपाललाई हिन्दूराष्ट्र भएको हेर्न चाहन्छ । दुई महिना अगाडि भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालाले नेपाललाई हिन्दूराष्ट्र बनाउन अप्रत्यक्ष रुपमा धारणा राखेको स्रोतले जनाएको छ । नेपाललाई हिन्दूराष्ट्र बनाउन दवाव दिएको भारतले आफ्नो देशमा पनि हिन्दू धर्मको रक्षामा सहयोग मिल्ने अपेक्षा लिएको छ । विजय चौथाइवालाले नेपालका पत्रकारहरूसँग नेपाल हिन्दूराष्ट्र भयो भने आफूहरूलाई मान्य हुने बताएका थिए । उनको यो भनाइले भारत हिन्दूराष्ट्रको पक्षमा छ भन्ने संकेत थियो ।

यता, नेपालमाथि चीनले आफूलाई झन् बलियो रुपमा प्रस्तुत गर्ने संकेत दिइसकेको छ । चीनले नेपालबाट आफ्नो प्रभाव बढाउने तयारी गरेको छ । चिनियाँ राष्ट्रपति सी जिङपिङ पहिलोपल्ट नेपाल आउने अड्कलबाजी भइरहेकै बेला सम्भावित भ्रमणको मितिभन्दा एक महिनाअघि चिनियाँ विदेशमन्त्री बाङ यी नेपाल आउने भएका छन् ।

चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी पाकिस्तान ६ सेप्टेम्बरमा पुग्ने र त्यहाँबाट ८ सेप्टेम्बरमा नेपाल आइपुग्ने बताइएको छ । उनी पाकिस्तानमा हुने पाकिस्तान, अफगानिस्तान र चीन वार्तामा सहभागी हुनेछन् ।
नेपालको भ्रमण सकेपछि उनी सेप्टेम्बर ९ र १० नयाँ दिल्लीमा हुने भनिएको सीमा सम्बन्धी वार्ताका लागि जाने बताइए पनि यसबारे टुंगो भइनसकेको बुझिएको छ । वाङ यीको नेपाल–पाकिस्तान र सम्भावित भारतयात्राको तालिकाले मोदी र सीबीच अर्को महिना हुने शिखर बैठकमा क्षेत्रीय विषयले प्राथमिकता पाउनेछ । युनाइटेड पोष्टबाट

प्रतिक्रिया दिनुहोस