aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बाँदरको नाममा १० लाख बजेट विनियोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ भदौ २०७६
बाँदरको नाममा १० लाख बजेट विनियोजन

बैतडी। झट्ट  सुन्दा दशरथचन्द नगरपालिका-५ को वडा कार्यालयले यो कस्तो क्षेत्रमा बजेट विनियोजन गर्‍यो होला भने लाग्न सक्छ। तर दशरथचन्द नगरपालिका-५ का स्थानीयको मुख्य समस्या बाँदर आतङ्क नै हो।

सोही समस्याको मागअनुसार कार्यालयले बौदर धपाउन १० लाख बजेट विनियोजन गरेको छ। दशरथचन्द नगरपालिका-५ मा बाँदरले विगत केही वर्षदेखि आतङ्क मच्चाएकाले बाँदर व्यवस्थापनका लागि वडा कार्यालयले १० लाख रुपैयाँ विनियोजन गरेको हो । 

बाँदरलगायत अन्य जंगली जनावर व्यवस्थापन गर्नका लागि उक्त रकम विनियोजन गरिएको दशरथचन्द नगरपालिका-५ का अध्यक्ष नारायणप्रसाद भट्टले बताए ।

वडामा विशेष गरेर बाँदरलेवआतंक मच्चाएको उनले बताए। खेतमा लगाएको अन्नबाली तथा फलफुल बाँदरले सखाप पार्ने गरेको छ ।  यसका साथै घरभित्र पसेर समेत पकाएको खाना तथा घरभित्र थन्काएर राखेको अन्न तथा अन्य खाद्यान्नसमेत बाँदरले खाने गरेको उनले बताए । 

बाटोमा हिँड दासमेत महिला तथा बालबालिकालाई बाँदरले आक्रमण गर्ने गरेको वडाध्यक्ष भट्टको भनाइ छ । गत साउनमा ३ जनालाई बाँदरले टोकेपछि तीनैजनालाई रेबिजविरुद्धको सुईसमेत दिइएको उनले बताए । 

जंगली जनावर व्यवस्थापन कसरी गर्ने भन्ने विषय टुंगो लाग्न बाँकी रहेको दशरथचन्द नगरपालिका-५ को कार्यालयले जनाएको छ। यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।


 

प्रतिक्रिया दिनुहोस