aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सन्तान लखेट्ने शिक्षा परिवर्तनको जरुरी

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • बुधबार, २५ माघ २०७९
सन्तान लखेट्ने शिक्षा परिवर्तनको जरुरी

काठमाडौं । शिक्षा अर्थात सिकाइको कुनै सीमा हुँदैन। विश्वविख्यात शिक्षाविद्हरूले शिक्षा कोक्रोबाट सुरु भएर चिहानमा गएर अन्त हुन्छ भनेका छन् । तर पूर्वीय दर्शनशास्त्रले त्यो मान्यतालाई पनि अझ परिष्कृत गर्दै शिक्षा वा ज्ञान गर्भावस्थाबाट नै सुरु भएर भौतिक देह समाप्त भएपश्चात युगयुगसम्म अमर रहन्छ भन्ने मान्यता स्थापित गरेका छन् । अष्टवक्रले आमाको कोखमा रहँदा प्राप्त गरेको ज्ञानदेखि अभिमन्युले गर्भावस्थामा प्राप्त गरेको ज्ञानका सन्दर्भहरूलाई व्याख्या गरेर शिक्षा अर्थात ज्ञान र सिकाइ क्रियाकलाप गर्भावस्थादेखि सुरु हुने मान्यता स्थापित गरेका छन् । पूर्वीय दर्शनशास्त्रले व्याख्या गरेका यी मान्यतालाई आधुनिक विज्ञानले पनि पुनर्पुष्टि गर्दै गर्भावस्थामा आमा र आमाको सन्निकट हुने भौतिक, सामाजिक र मनोवैज्ञानिक परिवेशहरूले गर्भमा भएका बालबालिकालाई असर गर्ने तथ्यलाई प्रमाणित गरेको छ । यसरी आमा, बुबा र परिवारसँग यति धेरै जोडिएको सिकाइ क्रियाकलापको निरन्तरता र विकासमा पनि अभिभावकको महत्त्व र योगदान कति हुन्छ भन्ने कुरालाई कसैले व्याख्या गरेर सीमांकन गर्न सक्ने अवस्था छैन । तर तथ्यहरूले के प्रमाणित गरेका छ भने अभिभावकको सद्व्यवहारमा रहेको बालबालिकाको मानसिक र मनोवैज्ञानिक स्वस्थताका कारण सिकाइ क्रियाकलापमा सकारात्मक असर पर्छ ।

बालबालिका जन्मेदेखि उसको शिक्षा प्राप्त गर्ने अधिकार संसारभर नै अहरणीय अधिकारका रूपमा परिभाषित भइरहेको विश्व परिवेशमा शिक्षालाई समाजको आवश्यकता अनुसार परिभाषित गर्ने काम भइरहेको छ । परिभाषित र व्याख्या गर्ने सन्दर्भमा शिक्षालाई औपचारिक, अनौपचारिक, सैद्धान्तिक, व्यावहारिक, प्राविधिक आदि आदि नामले सीमांकन गर्ने गरिएको पाइन्छ ।

आधुनिक समाजमा सिकाइलाई शिक्षाको औपचारिक दायरालाई विस्तार गर्ने र शिक्षा प्राप्त गर्ने अधिकारलाई आमनागरिकको आधारभूत अधिकारका रूपमा स्थापित गराउने अभ्यास भइरहेका छन् ।

संयुक्त राष्ट्र संघको मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रको धारा २६ मा शिक्षासम्बन्धी हक व्यवस्था गरिएसँगै आधुनिक समाजमा विश्वव्यापीरूपमा शिक्षाको अधिकारको बहस सुरु भएको हो । कानुनीरूपमा शिक्षाको हकलाई मानव अधिकारका रूपमा सुनिश्चित गर्ने विश्वव्यापी अभियानमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र १९६८, बालअधिकारसम्बन्धी महासन्धि १९८९, सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि १९७९, आदिवासी तथा जनजातिसम्बन्धी महासन्धि १९८९ ले थप बल प्रदान गरेका हुन् ।

सन् २००० को संयुक्त राष्ट्रसंघीय सम्मेलनको घोषणापत्रद्वारा प्रतिबद्धता गरिएको सहस्राव्दी विकास लक्ष्यले २०१५ सम्ममा गरिबी उन्मूलनका लागि ८ वटा विशेष संकल्प गरेको थियो । त्यसको अधिकांश पक्ष गुणस्तरीय र समान शिक्षा, प्रविधियुक्त र व्यावहारिक शिक्षालाई नै बढी प्राथमिकतामा राखिएको थियो । २०१५ को संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलनको प्रतिबद्धताअनुसार २०३० सम्ममा गरिबी निवारणका लागि निर्धारण गरिएका दिगो विकास लक्ष्यअन्तर्गत गुणस्तरीय शिक्षा र जीवनपर्यन्त सिकाइलाई गरिबी निवारणको आधारका रूपमा हेरिएको छ । यसरी मानव जीवनको एउटा अभिन्न पक्षका रूपमा शिक्षालाई औपचारिकरूपमै स्थापित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस