aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

राष्ट्रपतिमा माओवादीले साथ दिनेमा यस कारण ढुक्क छ कांग्रेस

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • बुधबार, २५ माघ २०७९
राष्ट्रपतिमा माओवादीले साथ दिनेमा यस कारण ढुक्क छ कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको परिणाम आफूअनुकूल हुनेमा आशावादी बन्दै गएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सत्ता साझेदार दलहरूबीच बढ्दै गएको अविश्वास र तिक्ततासँगै कांग्रेस नेताहरू नयाँ राष्ट्रपति आफ्नै पार्टीको बन्नेमा आशावादी देखिएका हुन्।  

कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेलगायत दलको समर्थनमा दाहाल प्रधानमन्त्री भएका हुन्। कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर माओवादीसँग बिग्रिएको सम्बन्ध सुधार प्रयास थालेको थियो। प्रधानमन्त्रीमा दाहाललाई विश्वासको मत दिने कांग्रेस निर्णयलाई गठबन्धनको ठुलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि ढोक्सो थापेको रूपमा व्याख्या गर्दै आएका छन्।  

दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिए पनि विपक्षी बेञ्चमा बसेको कांग्रेसले राजनीतिक परिस्थिति आफू अनुकूल बन्दै गएको विश्लेषण गर्न थालेको छ। पार्टीको पक्षमा परिस्थिति निर्माण हुँदै गएको जनाउँदै कांग्रेसका एक नेताले भने, ‘दुवै पार्टी ९कांग्रेस र माओवादी केन्द्र० बीच केही अविश्वास र संशय बाँकी छन्। तिनलाई हटाउने र मिलेर अघि बढ्ने प्रयास भइरहेको छ। कांग्रेसले अघि सारेको उम्मेदवार राष्ट्रपति बन्नेतिर अवस्था सोझिएको छ।’  

दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएको कांग्रेस राष्ट्रपतिमा आफूले उठाउने उम्मेदवारलाई समर्थन गर्ने माओवादी निर्णयको प्रतीक्षामा छ। ‘माओवादीले अब निर्णय लिन ढिला गर्नु हुन्न भन्ने हाम्रो बुझाइ छ,’ कांग्रेस पदाधिकारीसमेत रहेका ती नेताले भने्, ‘माओवादी निर्णय आएपछि बल्ल पार्टीबाट राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्ने विषयमा छलफल हुन्छ।’

कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएपछि उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन्। दाहाल दलबाहिरको व्यक्तिलाई राष्ट्रपतिका रूपमा अघि सार्ने पक्षमा रहेको निकटहरूको दाबी छ। ‘एमालेले भनेकै उम्मेदवारलाई राष्ट्रपति बनाउने अवस्था छैन,’ प्रधानमन्त्री दाहाल निकट एक नेताले भने, ‘सकेसम्म स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाइयो भने दलीय हितका आधारमा निर्णय हुँदैन भन्ने हो।’  

प्रतिक्रिया दिनुहोस