
काठमाडौं । टर्कीको भूकम्प इपिसेन्टर आसपास बसोबास गर्ने सबै नेपालीको अवस्था हालसम्म थाहा नभए पनि सम्पर्कमा आएजतिको अवस्था सुरक्षित छ।
‘६ जना दूतावासको सम्पर्कमा आएका र हाल उद्धार केन्द्रमा सुरक्षित रहेको जानकारी प्राप्त भएको छ’, पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले भने।
टर्कीलगायत आसपासका देश र नेपालको अवस्थिति पाकिस्तानस्थित दूतावासले हेर्छ। टर्कीको दक्षिणी भू–भाग पाकिस्तानसँग छोएको छ।
सिरियासँग छोएको सीमा क्षेत्रको शहर भूकम्पको इपिसेन्टर हो। गाजियन्टेपमा काम गर्न गएका तीन नेपाली युवतीले आफ्नो अवस्थाको जानकारी सञ्चारमाध्यमलाई गराएका छन्। तीनमध्येका गुड्डु राईले अँध्यारोमै आएको भूकम्पले बेस्सरी हल्लाउँदा धेरै घर भत्केको बताए।
‘एकदमै डरायौँ। टर्कीका सबै मानिस आफ्ना परिवारको साथमा गाडीमा अन्यत्र गइरहेका थिए। हल्लिन अलिक रोकिएपछि हामी तीन जना अलपत्र अवस्थामा हिँड्दै एउटा पार्कमा पुगेर चिसोमा बस्यौँ’, उनले भने।
दोस्रो पटकको भूकम्प सकिएपछि उनीहरू अहिले एउटा होटलको शरणमा रहेका छन्। बाहिर हिउँ परेर अति चिसो भएकाले निस्किन सक्ने अवस्था छैन तर भूकम्पले चारैतिर नष्ट पारेको भौतिक संरचना र अनेकौँको ज्यान गएको घटनाले आफूहरू त्रासमा रहेको बताए।
केही समयको फरकमा आएका दुईवटा शक्तिशाली भूकम्पका कारण त्यस क्षेत्रमा आइपरेको संकटमा नेपाली नागरिक प्रभावित भएको हुन सक्ने सम्भावना रहेकाले पाकिस्तानस्थित नेपाली दूतावासले निरन्तर आफ्ना नागरिकको खोजी र सम्पर्कमा ल्याउने काम जारी राखेको राजदूत अधिकारीले बताए।
दूतावासले अपिल जारी गर्दै संकटग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकलाई आफ्ना परिवार र साथीभाइको सम्पर्कमा आउन तथा आफ्नो समस्याका बारेमा जानकारी दिन भनेको छ। कतै समूहमा बसेको भए पनि दूतावासले उपलब्ध गराएको सम्पर्क नम्बरमा फोन गरेर जानकारी गराउन अनुरोध गरिएको छ।
त्यहाँका नेपाली नागरिकको अवस्थाबारे परराष्ट्र मन्त्रालयले बुझ्ने कार्य जारी राखेको र समन्वय गर्न दूतावासलाई निर्देशन दिएको जनाइएको छ। टर्किमा करिब दुई हजारको संख्यामा नेपाली नागरिक बस्दै आएका छन्।
टर्की र सिरियाको भूकम्पका कारण भएको जनधन र भौतिक क्षतिप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ। नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले मूल्यवान् मानवीय जीवन गुमेको भन्दै भूकम्पको क्षतिप्रति दुःख व्यक्त गर्दै भूकम्पमा परेर घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। यस्तो संकटको घडीमा नेपाल सरकार टर्कि र सिरियाको साथमा रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस