काठमाडौं । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राखेको विश्वासको मत लिने प्रस्ताव अस्वीकृत भएको छ । आज प्रदेशसभामा प्रस्तुत विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै सरकार ढलेको छ ।
मुख्यमन्त्री रावलले बिहीबारको बैठकमा विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए । त्यसलाई सभामुखले निर्णयका लागि पेस गरेका थिए । ध्वनी मतबाट गरिएको मत विमाजनको प्रस्तावको विपक्षमा धेरै सांसदले हात उठाएकाले विश्वासको मत लिने प्रस्ताव अस्वीकृत भएको सभामुखले घोषणा गरेका थिए ।
रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको प्रावधान अनुसार उनले विश्वासको मत लिनुपर्ने समय सीमा बिहीबारसम्म थियो ।
उनका पक्षमा नेकपा (एमाले)का १०, नेकपा (माओवादी केन्द्र)का ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ गरी २२ सांसदले मात्र मत दिएका छन् । मुख्यमन्त्रीको मनोनयनका बेला समर्थन गरेको ७ जना सांसद भएको नागरिक उन्मुक्ति पार्टीले रावललाई विश्वासको मत दिएन । ५३ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन २७ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रतिक्रिया दिनुहोस