
काठमाडौं । विश्वकप क्रिकेट लिग २ अन्तर्गत फेब्रुअरी १४ देखि नेपालमै हुने त्रिदेशीय एकदिवसीय शृंखलाका लागि घोषित नेपाली टिममा पूर्व कप्तान सन्दीप लामिछाने पनि परेका छन् । गत भदौमा नाबालिग बलात्कारको आरोपछि निलम्बनमा परेका सन्दीपलाई दोस्रो चरणको बन्द प्रशिक्षणमा नेपाल क्रिकेट संघले समावेश गरेको थियो ।
आगामी मंगलबारबाट त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्ड, नामिबिया र नेपाल सम्मिलित शृंखलाका लागि बिहीबार घोषित टिममा सन्दीपलाई पनि समावेश गरेको क्यानले जानकारी दिएको छ ।
रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टिम कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुल्शन झा, भीम सार्की र सूर्य तामाङ छन् । सूर्य पहिलो पटक सिनियर राष्ट्रिय टिममा परेका हुन् ।
यस्तै, आरिफ शेख, प्रतिश जिसी, श्याम ढकाल र अर्जुन साउद वैकल्पिक खेलाडीको सूचीमा छन् । घरेलु मैदानमा हुन लागेको यो प्रतियोगितामा नेपालका नयाँ मुख्य प्रशिक्षक मोन्टी देशाईले पनि डेब्यू गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस