aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

अन्तरदेशीय पाइपलाइन विस्तार गर्न पुगेन बजेट, अघि बढेन काम

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, २७ माघ २०७९
अन्तरदेशीय पाइपलाइन विस्तार गर्न पुगेन बजेट, अघि बढेन काम

काठमाडौं । बजेट अभावले अन्तरदेशीय पाइपलाइन विस्तारको काम अगाडि बढ्न सकेको छैन । इन्धनको आपूर्ति व्यवस्था सहज पार्न चालू आर्थिक वर्षको बजेटमा भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म र बाराको अमलेखञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भनिए पनि बजेट अभावले काम सुरु हुन नसकेको हो । 

इन्धन आपूर्ति व्यवस्था सहज बनाउनका साथै भण्डारण गृह निर्माण गर्न दुई ठाउँमा पाइपलाइन विस्तार गर्ने भनिएको थियो तर बजेट अभावले गर्दा पाइपलाइन विस्तारको काम सुरु हुन सकेको छैन । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी)को संयुक्त लगानीमा पाइपलाइन विस्तार गर्ने भनिए पनि काम अगाडि बढ्न सकेको छैन ।  

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यी दुई परियोजना अध्ययन गरेर मन्त्रिपरिषद्मा पेस गरे पनि सरकारले त्यसको निर्णय गर्न सकेको छैन । 

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले पाइपलाइन परियोजना विस्तारका लागि बजेटमा रकम व्यवस्था नगरिएको र निगमसँग रकम नभएकाले काम अगाडि बढाउन नसकिएको जानकारी दिए । लामो समयदेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा निगम आर्थिक सङ्कटमा रहेकाले पाइपलाइन विस्तार आगडि बढाउन नसकिएको उनले जानकारी दिए । 

भारतको सिलगुडीदेखि झापाको चारआलीसम्म ५० किलोमिटर दूरी रहेको छ, जसमा भारततर्फ ३५ किलोमिटर र नेपालतर्फ १५ किलोमिटर छ । यसको लागत सात अर्ब भारतीय रुपियाँ लाग्ने अनुमान गरिएको छ । नेपालतर्फको भाग नेपाल र भारतीय भाग आईओसीले बनाउने सम्झौता रहेको छ । सिलगुडीदेखि झापाको चारआलीमा पाइपलाइन विस्तार गरी ४४ हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण गर्ने योजना रहेको छ । 

यस्तै बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमिटर दूरी रहेको छ । ६२ किलोमिटर दूरीमा पाइपलाइन विस्तार गर्न आठ अर्ब रुपियाँ लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । 

पाइपलाइनबाट ल्याएको तेल भण्डारण गर्न चितवनको लोथरमा एक लाख चार हजार किलोलिटर क्षमताको अत्याधुनिक भण्डारण गृह बनाउने योजना छ । दुवै आयोजना तयार गर्न १५ अर्ब भारतीय रुपियाँ लाग्ने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस