देशमा वैकल्पिक शक्ति बन्ने उद्घोषका साथ २०७४ सालमा उदाएर पनि लगभग गुमनामको अवस्थामा पुगेको विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजदेखि सुरु हुन लागेको छ । महाधिवेशनको उद्घाटन आज बिहान १० बजे प्रज्ञा भवन कमलादीमा हुन लागेको हो ।
आज र भोली गरी दुई दिनको समय तय भएको महाधिवेशनका लागि देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुने आयोजकहरुको भनाइ रहेको छ । यस महाधिवेशनबाट यो पार्टी बहुपदीय प्रणलीमा जानेछ ।
महाधिवेशनसँगै पार्टी अध्यक्ष पदमा समीक्षा बाँस्कोटा, मिलन पाण्डे र प्रकाशचन्द परियारले कसरत गरिरहेका छन् । तत्काली अध्यक्ष रविन्द्र मिश्रले नेतृत्व गरेको समयमा पाण्डे र मिश्रबीच एकले अर्का समूहलाई कारवाहीको लहर चलाइएको थियो । मिश्रले आफ्नो समूह लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीमा विलय गरिसकेका छन् ।
समिक्षा बाँस्कोटा गएको स्थानीय निकायको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवार बनेकी थिइन् भने पाण्डे मंसिर ४ गतेको निर्वाचनमा काठमाडौं क्षेत्र नं. ९ मा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका थिए । दुवै उम्मेदवारले निर्वाचनमा भाग लिएर आफ्नो जमानत पनि जोगाउन सकेनन् ।
पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन सम्पन्न गर्ने तयारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस