aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

देउता बन्न हिँडेको देवशिलासँग अयोध्याको यात्रा

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शनिबार, २८ माघ २०७९
देउता बन्न हिँडेको देवशिलासँग अयोध्याको यात्रा

काठमाडौं । ‘मानो तो देव नहीं तो पत्थर’ यो कथन मिथिलाञ्चलमा मात्र नभई नेपाल–भारतभर लोकप्रिय छ। पौराणिक मान्यताअनुसार मूर्तिपूजा परापूर्वकालदेखि चलिआएको छ र अन्य वेदहरूमा पनि मूर्तिपूजाको व्यवस्था छ। तर ईश्वरीय ज्ञान वेदमा मूर्तिपूजालाई अमान्य भनिएको छ। किनभने भगवान् निराकार र सर्वव्यापी छन्। त्यसैले ब्रह्माण्डको प्रत्येक कणमा व्याप्त ईश्वरलाई एउटै मूर्तिमा सीमित राख्नु ईश्वरको गुण, कर्म र स्वभावको विपरीत हो। वैदिक कालमा निराकार भगवान्को मात्र पूजा गर्ने व्यवस्था थियो। यी तथ्य यस कथनलाई प्रस्ट्याउन काफी छन्।

वैदिक कालको व्यवस्था र मान्यतालाई भर्खरैको एक दृश्यले नवीकरण गरिदिएको छ। गत बुधबार भारतको देवभूमि अयोध्यामा नेपालको कालीगण्डकीबाट लगिएको देवशिला ९पत्थर०प्रतिको आस्था, श्रद्धा र आकर्षणले त्रेतायुगको वैदिक काललाई सम्झाइदिएको छ।

गत बुधबार भारतको गोरखपुरदेखि अयोध्याको रामसेवकपुरममा बाक्लो हुस्सुसँगै शरीर कमाउने ठन्डी थियो। मैले पत्थरप्रतिको यत्रो श्रद्धा देखेको थिइनँ। देवशिला यात्रामा गोरखपुरदेखि अयोध्यासम्म सहभागी हुँदा लाखौं मानिस हात जोडेर सडकमा उभिरहेको देखें। न प्रचार, न सार्वजनिक आह्वान१ तर सडकमा देखिएका युवा, वृद्ध, बालबालिका, महिला, घुम्टोमा अनुहार लुकाएका बेहुलीको भिडले धार्मिक आस्थाको अनुपम र अद्भुत अनुभूति गराउँदै थियो।

महिलाहरू हातमा जल र अक्षता लिएर सडकको किनारमा देवशिला पर्खिरहेका थिए। जब ट्रकमा लोड गरिएको देवशिला अगाडि आयो, महिलाहरूको श्रद्धा देवशिलामा पोखियो। उनीहरू जल र अक्षता चढाएर देवशिला नमन गरेको दृश्यले त्रेतायुग स्मरण गराइरहेको थियो।

देवशिला ‘राम’ भगवान् बनेपछि देख्न नसक्ने उमेरका जेष्ठ नागरिकहरू आफ्नो ‘राम’ देख्न चाहन्थे। भनिन्छ, पत्थरमा पनि आफ्नो आराध्य देख्ने शक्ति पाउनका लागि सभ्यतालाई अध्यात्मको उच्चतम बिन्दु छुनु पर्दोरहेछ। तर नेपालदेखि भारतको अयोध्यासम्मका आमजनलाई यो अवसर सहजै प्राप्त भयो। पहिरनका कारण समाजमा संस्कारहीन कहलिने युवतीहरू हात जोडेर देवशिला दर्शनका लागि व्यग्र देखिन्थे। समाजमा उद्दण्ड कहिलिने केटाहरू दर्शनका लागि उत्साहित देखिन्थे। जताततै दर्शनको व्यग्रतामा मानिसका आँखा प्रतीक्षारत देखिन्थे।

दर्शनका लागि लामबद्ध भिडमा जातीय सीमा थिएन। धनी गरिबको भेद थिएन। मानिस आफ्ना जातीय सीमा र आर्थिक भेद भुलेर ‘राम सीया राम’ जप्न मग्न देखिन्थे। लामबद्ध भिडलाई यति मात्र थाहा थियो, राम भगवान् हाम्रो गाउँसहर भएर जाँदै छन्, यस अद्भुत क्षणलाई दिलदिमागमा कैद गर्नुपर्छ।सीतासँग विवाहपछि राम जुन बाटो भएर अयोध्या गएका थिए, त्यही बाटो देवशिला अयोध्या लगिएको हो। यस भेगका मानिसहरू आफूलाई त्यसैकारण भाग्यमानी ठान्छन्। उनीहरू यस क्षणलाई पलपल बाँच्न चाहन्थे। रमाउन चाहन्थे। देवशिला यात्रामा सहभागिता जनाएर अद्भुत आनन्द प्राप्त गर्न चाहन्थे।

१३४ किलोमिटरको गोरखपुर(अयोध्याको दुरी तय गर्न सामान्यतः सवा तीन घण्टा लाग्छ। तर देवशिला अयोध्या पुग्न करिब १२ घण्टा लाग्यो। कारण थियो, यसबीचमा हात जोडेर उभिएका श्रद्धा र आस्थाका हातहरू। भिडले भगवान्रूपी देवशिलालाई नमन गर्न चाहन्थे। छुन चाहन्थे। पूजा गर्न चाहन्थे। दर्शन गर्न चाहन्थे। गोरखपुरदेखि अयोध्यासम्मै श्रद्धाको मानव साङ्लो निर्माण भएको थियो। कुनै नेता, सन्त वा कुनै विचारधाराले त्यस्तो उत्साह भरिएको मानव साङ्लो निर्माण गरेको थिएन। यो अद्भुत मानव साङ्लोमा आम जनलाई एकताबद्ध गर्ने मन्त्र थियो ‘राम सीया राम सीया राम जय जय राम’।

गोरखपुरबाट देवशिला यात्रा अघि बढ्दै थियो। गोपालगन्जमा खाना खान यात्रा करिब आधा घण्टा रोकियो। यस समयमा श्रद्धाका हजारौं हात देवशिला बोकेको ट्रकतर्फ बढे। जसमध्ये थोरै हात देवशिलालाई छुन पाएका थिए भने धेरै हात देवशिला बोकेको ट्रकलाई छोएर आनन्दित भइरहेका थिए। भिड छिचोल्दै देवशिला छुन पाएकी आँचल कुमारीले नागरिकसँग भनिन्, ‘ए आनन्द मै शब्दमे वयाँ नही कर सकुँगी, ए अद्भुत है अनुभूति है ९यो आनन्दलाई म शब्दमा बयान गर्न सक्दिनँ, यो अद्भुत आनन्द हो०।’ अझ उनले त देवशिलामा चढाइएको माला पनि प्रसादका रूपमा ग्रहण गर्ने सौभाग्य पाएको सुनाइन्। उनले यो मालाबाट प्रियजनलाई फूल निकालेर प्रसादको रूपमा बाँड्ने बताइन्। देवशिला नमन गरी माला प्राप्त गरेकी उनमा खुसीको सीमा थिएन। हुस्सु बिस्तारै हट्दै थियो तर हावामा चिसो सिरेटो बाँकी नै थियो। यात्रा गन्तव्यतर्फ अघि बढ्दै थियो।

बुधबार राति देवशिला अयोध्याको रामसेवकपुरम पुग्दा श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अधिकारीहरू, साधुसन्त र सर्वसाधारण दर्शनार्थीसँगै ठूलो संख्यामा भारतीय सञ्चारकर्मीको घुइँचो लागेको थियो। रामसेवकपुरमा लागेको त्यो घुइँचो नेपालको जानकी मन्दिरका तर्फबाट अयोध्यामा उपहारका रूपमा पठाइएको देवशिलाको दर्शनका लागि थियो। कालीगण्डकीबाट उत्खनन गरी ल्याइएको यो त्यही शिला हो, जसबाट भगवान् रामको बालस्वरूप मूर्ति बनाइँदै छ।

प्रतिक्रिया दिनुहोस